ई-आर्थिक, भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरस्थित दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा गर्ने तयारी भइरहेको बताएका छन्।
बन्दरगाह निर्माणस्थलको निरीक्षणका क्रममा मन्त्री भण्डारीले भने, “दोधारा चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु हुने चरणमा पुगेको छ। तीन अर्ब ८० करोड रुपैयाँको लागतमा निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको छ। दुई देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा शिलान्यास गर्ने गरी कार्यक्रम तय हुँदैछ।”
उनले नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक छलफल अगाडि बढाएको जानकारी दिए।
“पश्चिम नेपालको सीमासँग नजिक रहेको भारतको मुन्द्रा बन्दरगाह हाम्रो प्राथमिकतामा छ,” मन्त्री भण्डारीले भने, “यसबाट तेस्रो मुलुकसँगको व्यापारमा छोटो दूरीको सहज पहुँच हुने छ।”
दोधारा चाँदनी सुक्खा बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन छ। सुदूरपश्चिममा व्यापार र ढुवानीको सुविधालाई सहज बनाउँदै आर्थिक समृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।