२०८३ भाद्र ३१ बुधबार

संशोधन विदेशी डिजाइनमा आएको भन्दै एमालेले दियो विफल बनाउने चेतावनी

ई आर्थिक    सोमबार, असार २६ २०७४
2.5K
Shares
संशोधन विदेशी डिजाइनमा आएको भन्दै एमालेले दियो विफल बनाउने चेतावनी

२६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली आइतबार झापा पुगेर ‘विधेयक विदेशीको डिजाइनमा दर्ता भएको’ भन्दै कुनैै हालतमा परित हुन नदिने चेतावनी दिएका छन् । एमाले तराई, पहाड र हिमाललाई कुनै हालतमा अलग गर्ने योजनाको संशोधन पारित गर्ने पक्षमा नरहेको ओलीले बताए ।

विदेशीको उक्साहटमा बनेको गठबन्धनले स्थानीय निर्वाचनमा जनताबाट परास्त भएको बताउँदै ओलीले विदेशी डिजाइनमा दर्ता भएको संशोधन कुनै हालतमा पारित हुन नसक्ने दाबी गरे । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सत्तारूढ दलले संशोधनको नाममा आफ्नो ‘विज्ञापन’ गरिरहेको आरोप लगाए ।

देश र जनताको हितविपरीतका प्रस्ताव ल्याउने र पारित नै नहुने प्रस्ताव पारित गर्ने भनेर सत्तारूढ दलले प्रचारबाजी मात्रै गरिरहेको ढकालको भनाइ छ । सत्तारूढ दलले जेजति गरे पनि यो संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुग्न एमालेले नदिने उनको दाबी छ ।

प्रतिपक्षी दलहरू संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिए असफल बनाउनेमा सहमत रहेको ढकालले जानकारी दिए । उनका अनुसार कुनै पनि हालतमा दुई तिहाइ पुग्न नदिने रणनीतिमा एमाले छ । एमाले सचिव प्रदीप ज्ञवालीले अहिले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने पार्टीको अडान यथावत् रहेको बताए ।

संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिएर सत्तारूढ दलले प्रमुख प्रतिपक्षी दलसँग छलफल एवं सहकार्यमा देश र जनताको पक्षमा अर्को संशोधन प्रस्ताव ल्याए एमालेले सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

संविधान संशोधनको विरोधमा एमाले नभएको बताउँदै उनले राष्ट्र र जनताको आवश्यकता एवं औचित्यका आधारमा प्रस्ताव आउनुपर्ने बताए । ‘एमाले संविधान संशोधनको पक्षमा छ, संविधान संशोधन नै गर्न सकिँदैन भन्ने छैन,’ ज्ञवालीले भने, ‘तर संशोधन प्रस्ताव देश र जनताका आवश्यकताका आधारमा तयार गर्नुपर्छ, समस्या समाधान गर्न जनताको आवश्यकताका आधारमा एमाले संशोधन पारित गराउन तयार छ ।’

संविधानमा एमालेका पनि कतिपय मुद्दा नसमेटिएकाले त्यसलाई पनि पूरा गर्ने गरी पार्टीसँगको सहमति एवं छलफलका आधारमा नयाँ संशोधन प्रस्ताव अघि बढाए त्यसमा एमालेको समर्थन रहने उनले बताए । तर एमाले तेस्रो चरणको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्नुपर्ने सर्त अघि सारेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको स्थानीय निर्वाचनअघि संशोधन हुन नसक्ने तर्क एमालेको छ ।अाजकाे राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij