२०८३ साउन ११ सोमबार

पर्यटकीयस्थल लुक्लाको विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा

ई आर्थिक    सोमबार, माघ १० २०७३
4.4K
Shares
पर्यटकीयस्थल लुक्लाको विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा

१० माघ, सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् ।

पर्यटकीय मौसममा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका हुन् ।

एकजना पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्नुहुन्छ – “दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, चर्पी जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।”

बिहानको समयमात्र उडानका लागि उपयुक्त रहेको सो विमानस्थलमा सबैजसो उडान कम्पनीले एकै समयमा उडान भर्छन्, यस्तो अवस्थामा विमानस्थलको टर्मिनलमा सयौँको भीड हुन्छ तर आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउण्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताउनुभयो । उहाँका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्नेसमेत समस्या रहेको छ ।

माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेको छ । तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्नुहुन्छ – “यसले हामीलाई पनि समस्या पर्ने गरेको छ, कुनैबेला विमान उड्ने बेलामा पनि हराएको यात्रु खोज्दा हैरान हुन्छ, विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनुपरेको थुप्रै घटना भएका छन्”, केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएको भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो ।

प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताए पनि वर्षौंदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij