ई–आर्थिक, काठमाडौं । १७ वटा शाखा संजाल र १५ वटा तेस्रो पक्ष बीमा काउन्टर मार्फत सुदुर पुर्वको फिदिमदेखि सुदुर पश्चिमको दार्चुलासम्म अर्थात देशैभरी लघुबीमाको सेवा उपलब्ध गराइरहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ५० लाखसम्मका प्रायः सबै सम्पत्तिको बीमा गर्दै आएको छ । यो एउटा निर्जीवन लघुबीमा कम्पनी हो । अघिल्लो वर्ष भौतिक पूर्वाधार निर्माणमा नै समय खर्चिएको यस कम्पनीले गत वर्षको आधाआधी समय शाखा विस्तार र विभिन्न प्रोडक्टहरु निमार्णमा नै समय विताएको थियो ।
कम्पनीले गत वर्ष आधा सयम मात्र व्यापार गर्न पाएको थियो । यस अवधिमा कम्पनीले ५० हजार भन्दा बढी पोलिसी बिक्री गरेर ९ करोड रुपैयाँ भन्दा बढीको व्यापार गरेको थियो ।
कम्पनीले ग्राहकसँग सीधा सम्पर्क गरी आफ्नो व्यापार व्यवसाय अगाडि बढाइरहेको छ । त्यस्तै बैंकहरुसँगको सहकार्यमा ५० लाखसम्मका सम्पत्तिहरुको बीमा गरिरहेको छ । कम्पनीले बैंक जस्तै अन्य कुन कुन संघ संस्थाहरुसँग टाइअफ गरेर अगाडि बढ्न सकिन्छ भनेर अध्ययन गरिरहेको प्रमुख कर्यकारी अधिकृत नरेशकुमार रोका बताउनुहुन्छ । सबै वर्गलाई समेटेर अगाडि बढ्ने लक्ष्य लिएको छ, प्रोटेक्टिभले । प्रमुख कार्यकारी अधिकृत रोका भन्नुहुन्छ– हाम्रो कारणले नेपालको बीमा सम्बन्धी जनचेतना बढाउने, छिटो छरितो ढंगले बीमा सेवा उपलब्ध गराउने, दावी भुक्तानी छिटो गर्ने जस्ता समग्र बीमा क्षेत्रमा केही न केही योगदान होस् । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स बीमा प्राधिकरणले तोकेको सिमा भित्र रहेर वेष्ट सर्भिस दिँदै अगाडि बढिरहेको छ । कम्पनीले यो वर्ष २० करोड भन्दा बढीको प्रमियम संकलन गर्ने लक्ष्य लिएको छ ।
बीमा सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै अगाडि बढिहरको यस कम्पनी गाउँ र सहरी दुवै क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुहुन्छ, प्रमुख कार्यकारी अधिकृत रोका । ग्राहकको सन्तुष्टिलार्ई मुख्य प्राथमिकता दिएको यस कम्पनीले अहिलेसम्म ५ सय भन्दा बढी दावी भुक्तानी गरिसकेको छ । र, उनीहरुबाट कुनै किसिमको गुनासाहरु नआएको बताउनुहुन्छ प्रमुख कार्यकारी अधिकृत रोका । कम्पनीले २०७९ साल चैतमा बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमाको लाइसेन्स प्राप्त गरेको हो । यस कम्पनीको प्रधान कार्यालय धनगढीमा रहेको छ ।