काठमाडौं । मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोन ई.मास ५ ले उल्लेखनीय सफलता हासिल गरेको छ। सन् २०२६ को अक्टोबर महिनामा सबैभन्दा धेरै दर्ता हुने विद्युतीय सवारी बनेको ई.मास ५ ले मलेसियाको कुल ईभी बजारको झण्डै आधा हिस्सा ओगटेको छ।
अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो संख्या मलेसियामा सो महिनामा दर्ता भएका कुल ४ हजार ५९२ विद्युतीय सवारीको ४९.३ प्रतिशत हो।
यद्यपि, अक्टोबरमा मलेसियाको समग्र ईभी दर्ता भने घटेको छ। सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कमी आएको ईभी दर्ता संख्या गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो।
यसैगरी, प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। ई.मास ५ र ई.मास ७ को संयुक्त दर्ता मलेसियाको कुल ईभी दर्ताको ६१.३ प्रतिशत पुगेको छ।
अक्टोबर महिनामा मलेसियामा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ। यो यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो। यसले मलेसियाको वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको रोजाइ र बजारको बदलिँदो प्रवृत्तिलाई संकेत गरेको छ।
मलेसियामा ई.मास ५ ले हासिल गरेको सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गरेको छ। नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि.ले प्रोटोनको आधिकारिक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
नेपालमा प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा रियर ह्विल ड्राइभ लेआउटसहित आएको यस गाडीमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि-लिंक सस्पेन्सन र ८५ किलोवाटको मोटर रहेको छ।
त्यस्तै, यसमा ४० किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री तथा भेहिकल टु लोड (भीटूएल) सुविधा उपलब्ध छ। ७० लिटरको फ्रन्ट ट्रंक (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको उपयोगितालाई थप बढाएका छन्।
गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा पनि उपलब्ध छन्। नेपाली बजारमा प्रोटोन ई.मास ५ को मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।
त्यसैगरी, प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ४१० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२-इन-१ इन्टिग्रेटेड मोटर तथा डीसी फास्ट चार्जिङ सुविधा रहेको छ।
ई.मास ७ मा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड-अप डिस्प्ले (एचयूडी) र भेहिकल टु लोड (भीटूएल) सुविधा उपलब्ध छन्। यसको नेपाली बजार मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि प्रोटोन गाडीहरूको आधिकारिक वितरक हो। नेपाली ग्राहकलाई नवीनतम अटोमोटिभ प्रविधिसँग परिचित गराउँदै गुणस्तरीय सवारी तथा यातायातसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी अघि बढिरहेको छ। प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले व्यवस्थित बिक्री तथा सेवा सञ्जाल विस्तार, ग्राहककेन्द्रित पहल र गुणस्तरीय सेवा सुनिश्चित गर्दै नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य लिएको छ।
नौ दशकभन्दा लामो व्यावसायिक इतिहास बोकेको शंकर ग्रुप नेपालका प्रतिष्ठित व्यावसायिक समूहहरूमध्ये एक हो। विश्वास र गुणस्तरलाई प्रमुख आधार बनाउँदै आएको यस समूहले विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको छ।
सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापित शंकर ग्रुप नेपालमा मुख्यालय रहेको बहुआयामिक व्यावसायिक समूह हो। यस समूहअन्तर्गत विभिन्न क्षेत्रका ४० वटा कम्पनी सञ्चालनमा रहेका छन्।