२०८३ कार्तिक ३० आइतबार

जुम्ला विमानस्थल स्तरोन्नतिको आश्वासनमै सीमित, तीन दुर्घटनामा १३ जनाको मृत्यु

ई आर्थिक    आइतबार, कार्तिक ३० २०८३
323
Shares
जुम्ला विमानस्थल स्तरोन्नतिको आश्वासनमै सीमित, तीन दुर्घटनामा १३ जनाको मृत्यु

पाँच दशक बित्दा पनि विस्तार हुन सकेन विमानस्थल, ४० सिटे जहाज सञ्चालनको माग अझै अधुरै

जुम्ला । जुम्ला विमानस्थल स्तरोन्नति गर्ने आश्वासन पटक–पटक दिइए पनि कार्यान्वयनमा आउन नसक्दा यहाँको हवाई सेवा अझै सीमित बनेको छ । विमानस्थलमा भएका तीन वटा विमान दुर्घटनामा १३ जनाले ज्यान गुमाइसकेका छन् । तर पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि विमानस्थलको पूर्वाधार र धावनमार्गको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन ।

२०५५ साल माघ ३ गते नेकोन एयरको विमान धावनमार्गमै दुर्घटना हुँदा चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । त्यस्तै, २०६३ साल असार ७ गते यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका तीन सदस्यसहित आठ जनाले ज्यान गुमाएका थिए ।

यसैगरी, २०७५ साल जेठ २६ गते अवतरणका क्रममा तारा एयरको विमान दुर्घटनामा परेर ध्वस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार १८ जना यात्रु भने सकुशल रहेका थिए ।

विमानस्थल स्तरोन्नति र नियमित हवाई उडान सञ्चालन गर्ने विषयमा पटक–पटक आश्वासन आए पनि ती कार्यान्वयन हुन सकेका छैनन् । विमानस्थल विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको भए पनि त्यसअनुसार काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

विमानस्थल विस्तारका लागि आर्थिक वर्ष २०७९/८० मा एक करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । तर, उक्त रकम खर्च हुन नसक्दा फ्रिज भएको थियो । त्यसपछि पनि जग्गा अधिग्रहण र पूर्वाधार विस्तारका योजना अघि सारिए पनि उल्लेख्य प्रगति हुन सकेको छैन ।

हाल जुम्ला विमानस्थलको धावनमार्ग ६७० मिटर लामो र २५ मिटर चौडा छ । यस विमानस्थलमा साना ट्विनअटर जहाज मात्रै अवतरण गर्न सक्छन् । विमानस्थल विस्तार गरी ४० सिट क्षमताका जहाजसमेत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउनुपर्ने माग स्थानीयवासीले लामो समयदेखि गर्दै आएका छन् ।

विमानस्थल विस्तारका लागि चन्दननाथ नगरपालिका–१ र २ मा १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । २०२९ साल असोज १५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल स्थानीयवासीको श्रमदान र राज्यको पहलमा निर्माण गरिएको थियो ।

सञ्चालनमा आएको पाँच दशकभन्दा बढी समय बितिसक्दा पनि समयअनुसार पूर्वाधार विस्तार हुन नसक्दा जुम्लाको हवाई सेवा सीमित उडानमा निर्भर रहँदै आएको छ ।

हाल नेपाल एयरलाइन्स, सीता एयर, तारा एयर र समिट एयरले जुम्लामा हवाई सेवा दिँदै आएका छन् । तर, विमानस्थलको सीमित क्षमता र साना जहाजमा निर्भर रहनुपर्ने बाध्यताका कारण यात्रुले सहज र नियमित हवाई सेवा पाउन सकेका छैनन् ।

स्थानीयवासीले सुरक्षित, भरपर्दो र सहज हवाई सेवाका लागि विमानस्थल स्तरोन्नत्तिलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । उनीहरूले वर्षौंदेखि दोहोरिँदै आएको विस्तारको आश्वासन अब व्यवहारमा उतार्दै जग्गा अधिग्रहण, बजेट व्यवस्थापन र पूर्वाधार निर्माणको काम तत्काल अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij