काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गति अन्त्य गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन र आपसी सद्भाव सुदृढ बनाउन छठ पर्वले प्रेरणा प्रदान गर्ने बताएका हुन् ।
उनले सूर्य देवको आराधना गर्दै मनाइने छठ पर्वले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गर्नुका साथै सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्ने उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्दा मनोकाङ्क्षा पूरा हुने, परिवारको कल्याण हुने तथा दुःखकष्ट हटेर सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको पनि स्मरण गरेका छन् ।
उनका अनुसार सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यस पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ ।
सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै छठी माताको पूजा, अर्चना र व्रत गर्ने परम्पराले प्रकृति र मानवबीचको सम्बन्धलाई समेत उजागर गर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।
विशेषगरी तराई तथा मधेस क्षेत्रमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्दै जानु सकारात्मक भएको उनले बताएका छन् ।
राष्ट्रपति पौडेलले छठ पर्वका माध्यमबाट नेपाली समाजमा रहेका सबै प्रकारका सामाजिक विभेद र विसङ्गति अन्त्य भई दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्न छठी माता र सूर्य भगवान्को कृपा रहिरहने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा पर्वको शुभकामना दिएका छन् ।