२०८३ मंसिर १ सोमबार

जलवायु संकट सामना गर्न दक्षिण एसियाली मुलुकहरू एकजुट हुनुपर्नेमा पूर्वाधार समिति सभापति गजुरेलको जोड

ई आर्थिक    सोमबार, मंसिर १ २०८३
285
Shares
जलवायु संकट सामना गर्न दक्षिण एसियाली मुलुकहरू एकजुट हुनुपर्नेमा पूर्वाधार समिति सभापति गजुरेलको जोड

अन्टाल्या, टर्की। जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपद् तथा त्यसले निम्त्याउने पूर्वाधार र आर्थिक क्षति न्यूनीकरण गर्न दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहकार्य, साझा कार्ययोजना र एकीकृत पहल आवश्यक रहेको प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति माननीय आशिष गजुरेलले बताउनु भएको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–३१ (COP31) जारी रहेको सन्दर्भमा टर्कीको अन्टाल्यामा साउथ एसिया पार्लियामेन्टरी फोरम (SARPF) द्वारा आयोजित कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै सभापति गजुरेलले जलवायु संकट कुनै एक देशको मात्र समस्या नभई सम्पूर्ण दक्षिण एसियाली क्षेत्रको साझा चुनौती भएको उल्लेख गर्नुभयो।

भुटान, बङ्गलादेश, भारत, नेपाल र श्रीलङ्काका सांसद तथा विज्ञहरूको सहभागिता रहेको उक्त कार्यक्रममा उहाँले नेपालमा हालै भोटेकोशी र त्रिशूली उपत्यकामा आएको विनाशकारी बाढीको उदाहरण प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को स्वरूप र जोखिम तीव्र रूपमा परिवर्तन भइरहेको बताउनु भयो।

केही मिनेटमै पुल, सडक, विद्यालय तथा बस्तीहरू बगाउने अवस्थाले परम्परागत विपद् व्यवस्थापन प्रणाली मात्र पर्याप्त नहुने स्पष्ट पार्दै उहाँले पूर्वसूचना प्रणालीसँगै सुरक्षित पूर्वाधार निर्माण, जोखिम न्यूनीकरण र प्रभावकारी पूर्वतयारीमा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो। उक्त विपद्बाट नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) को झन्डै १० प्रतिशत बराबर अर्थात् पाँच अर्ब अमेरिकी डलरभन्दा बढी क्षति भएको विषय समेत उहाँले उठाउनुभयो।

सम्बोधनका क्रममा सभापति गजुरेलले जलवायु परिवर्तनका कारण विकासोन्मुख तथा अतिकम विकसित राष्ट्रहरूको भौतिक पूर्वाधारमा ठूलो क्षति भइरहेका बेला पुनर्निर्माणका नाममा थप ऋणको भार थोपर्नु उचित नहुने स्पष्ट पार्नुभयो।

जलवायु संकटका कारण गरिब तथा जोखिममा रहेका राष्ट्रका सडक, पुल र अन्य पूर्वाधार ध्वस्त हुँदा त्यसको पुनर्निर्माणका लागि थप ऋण लिनुपर्ने अवस्था न्यायोचित नहुने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय जलवायु सहयोग छिटो, सहज र मुख्यतः अनुदानमा आधारित हुनुपर्नेमा जोड दिनुभयो।

विश्वव्यापी सहकार्य र जलवायु वित्त परिचालनमा विभिन्न चुनौती देखिएको वर्तमान अवस्थामा दक्षिण एसियाली मुलुकहरूले एक्लाएक्लै जलवायु संकटको सामना गर्न नसक्ने उल्लेख गर्दै सभापति गजुरेलले क्षेत्रीय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो।

स्वच्छ ऊर्जा रूपान्तरण, विपद् जोखिम न्यूनीकरण, पूर्वाधारको उत्थानशीलता तथा अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारका लागि उहाँले चार वटा प्रमुख कार्यदिशा अघि सार्नुभयो।

दक्षिण एसियाली सहकार्यका लागि चार बुँदे कार्ययोजना प्रस्ताव

१. साझा कार्ययोजनाको अनुमोदन:
बैठकबाट तयार गरिएको साझा कार्ययोजना (Action Agenda) लाई अनुमोदन गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय र पैरवी गर्ने।

२. नियमित संसदीय संवाद:
जलवायु परिवर्तन सम्बन्धी सफल अभ्यास आदानप्रदान, नमुना परियोजना सञ्चालन तथा वित्तीय अवसरहरूको पहिचानका लागि दक्षिण एसियाली सांसदहरूबीच नियमित संवाद र छलफललाई निरन्तरता दिने।

३. सरकारलाई नीतिगत पहलका लागि प्रेरित गर्ने:
विद्यमान क्षेत्रीय मञ्चहरूमार्फत जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जा रूपान्तरणका विषयमा दक्षिण एसियाली सहकार्यलाई पुनर्जीवित गर्न आ–आफ्ना सरकारसँग आवश्यक नीतिगत पहल गर्ने।

४. जोखिममा रहेका समुदायको आवाज बुलन्द गर्ने:
हिमाली क्षेत्रका बासिन्दा, किसान, महिला तथा जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित र जोखिममा रहेका समुदायका सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु निर्णय प्रक्रियामा प्राथमिकताका साथ उठाउने।

कार्यक्रमको समापनमा अन्टाल्यामा भएको छलफललाई केवल प्रतिबद्धता र औपचारिक संवादमा सीमित नराखी साझा कार्ययोजनालाई व्यवहारमा कार्यान्वयन गर्ने दृढ इच्छाशक्तिका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

उक्त कार्यक्रममा पूर्वाधार विकास समिति सभापति माननीय आशिष गजुरेल सँगै कृषि विकास समितिका सभापति माननीय अशोक कुमार चौधरी र माननीय कमल सुवेदीको समेत आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रा. मुकुल शर्मा, डा. सुमेधा बसु, आयशा वाधवा तथा सत्यम मालवीयप्रति समेत विशेष धन्यवाद व्यक्त गरिएको थियो।

जलवायु परिवर्तनले सिर्जना गरेको साझा चुनौतीको सामना गर्न दक्षिण एसियाली मुलुकहरूबीच सहकार्य, ऐक्यबद्धता र सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको सन्देश यस कार्यक्रमले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij