सिन्धुपाल्चोक । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी डेढ महिनापछि आज (कात्तिक १ गते) देखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नाका कात्तिक ३ गतेसम्म खुला रहनेछ।
मन्त्रालयका अनुसार नाका सञ्चालनमा आए पनि उक्त अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ। यात्रुवाहक सवारीसाधनको सञ्चालनबारे भने कुनै जानकारी दिइएको छैन।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षले गरेको विशेष आग्रहपछि चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
करिब डेढ महिनादेखि बन्द रहेको नाका तीन दिनका लागि सञ्चालनमा आउने भएपछि नेपाल–चीन व्यापारिक गतिविधि सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी चाडपर्वका समयमा आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा यसले सहयोग पुर्याउने विश्वास गरिएको छ।
नेपाल र चीनबीचको व्यापारका लागि महत्त्वपूर्ण मानिने तातोपानी नाका लामो समय बन्द रहँदा आयात–निर्यात प्रभावित हुँदै आएको थियो। छोटो अवधिका लागि भए पनि नाका सञ्चालनमा आउनुले व्यापारी तथा व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।