काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा नेपालका ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार ९१ वटा आरोहण टोलीका सदस्यले अनुमति लिएका हुन्।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला छन्। उनीहरूलाई आरोहण अनुमति प्रदान गरेबापत विभागले २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
आरोहण अनुमति लिने आरोहीको सङ्ख्याका आधारमा मनास्लु सबैभन्दा अगाडि छ। आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। मनास्लुबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ।
त्यस्तै, धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन्। यसबाट ८२ लाख ४२ हजार ५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। हिम्लुङ हिमाल आरोहणका लागि तीन टोलीका ३४ जनाले अनुमति लिँदा २० लाख ८७ हजार ८०० रुपैयाँ रोयल्टी प्राप्त भएको छ।
आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएका छन्। यसबाट २९ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
विभागका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ।
देशगत रूपमा सबैभन्दा धेरै चीनका ११८ आरोहीले अनुमति लिएका छन्। त्यसपछि रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२ र बेलायतका ४५ आरोही छन्। पोल्याण्ड र जापानका २५–२५, नेपाल र इटलीका २३–२३, भारतका १८ तथा स्वीजरल्याण्ड र स्पेनका १६–१६ आरोहीले अनुमति लिएका छन्।
विभागले यस शरद् ऋतुमा हिमाल आरोहणका लागि जारी गरेको अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको जनाएको छ।