२०८३ कार्तिक ४ मंगलबार

दरवाङ बजारमा सडक पुगेको दुई दशकपछि कालोपत्र

ई आर्थिक    सोमबार, कार्तिक ३ २०८३
380
Shares
दरवाङ बजारमा सडक पुगेको दुई दशकपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङ बजारमा सडक पुगेको करिब दुई दशकपछि सडक कालोपत्र गरिएको छ। पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको एक किलोमिटर चार सय मिटर सडकमा प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएको हो।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि सम्पन्न भएको हो।

“दरवाङको तल्लो र उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको छ,” अध्यक्ष गर्बुजाले भने, “दरवाङमा विसं २०६४ मा सडक सञ्जाल पुगेको थियो।”

एक करोड ६६ लाख ४९ हजार सात सय ३२ रुपैयाँ लागत अनुमान गरिएको उक्त योजना ठेक्का प्रतिस्पर्धामार्फत एक करोड २६ लाख ८२ हजार आठ सय ८८ रुपैयाँमा निर्माण गर्ने गरी सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते सम्झौता भएको थियो।

सडक विस्तार तथा कालोपत्र भएपछि बजार क्षेत्रमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। तीव्र रूपमा बस्ती विकास भइरहेको दरवाङ बजारका भित्री सडक साँघुरा हुँदा सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै आएको थियो।

दरवाङ बजारमा तीन सयभन्दा बढी घर छन्। यसअघि जनप्रिय माध्यमिक विद्यालय रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारमार्फत सडक कालोपत्र गरिएको थियो। बजारका सडक फराकिलो बनाउन स्थानीय बासिन्दाले समेत स्वस्फूर्त रूपमा घरका पेटी तथा टहरा भत्काएर सहयोग गरेका छन्।

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ घरका पेटी तथा टहरा भत्काइएको छ।

यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकको दायाँबायाँ रहेका संरचना हटाएर करिब चार सय मिटर नाली निर्माण गरिएको थियो। सडक विस्तार, नाली निर्माण र कालोपत्रसँगै दरवाङ बजारको सडक पूर्वाधार सुधार हुने तथा स्थानीयवासी र बजारमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij