२०८३ कार्तिक ३ सोमबार

भाडाको जग्गामा तरकारी खेती गरेर वार्षिक नौ लाख आम्दानी

ई आर्थिक    सोमबार, कार्तिक ३ २०८३
247
Shares
भाडाको जग्गामा तरकारी खेती गरेर वार्षिक नौ लाख आम्दानी

बागलुङ । बागलुङ बजारमा भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका एक दम्पतीले वार्षिक नौ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। काठेखोला गाउँपालिका–३, धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१, रामरेखामा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन्।

छन्त्याल दम्पतीले रामरेखामा पाँच रोपनी जग्गा वार्षिक ६० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएर विगत छ वर्षदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन्। भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग मिलेर कृषि कर्म सुरु गरेका हुन्।

उनीहरूले सञ्चालन गरेको ‘छन्त्याल कृषि फर्म’मा पाँचवटा प्लास्टिक टनेल निर्माण गरी काउली, ब्रोकाउली, बन्दा, गोलभेँडालगायत तरकारी उत्पादन हुँदै आएको छ। तरकारी खेतीसँगै विभिन्न जातका बिरुवा उत्पादन गरी बिक्रीसमेत गर्ने गरिएको छ।

फर्मबाट उत्पादित तरकारी बिक्री गरेर वार्षिक नौ लाख रुपैयाँ आम्दानी हुने गरेको कला छन्त्यालले बताइन्। विशेषगरी कौसी खेती गर्नेहरूलाई लक्षित गरी काउली, बन्दा र प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ।

हाल फर्ममा ‘सरिता’ जातको गोलभेँडासहित विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ। बजारमै जग्गा भाडामा लिएर योजनाबद्ध रूपमा खेती गर्दा जीविकोपार्जनसँगै राम्रो आम्दानी गर्न सकिने उदाहरण छन्त्याल दम्पतीले प्रस्तुत गरेका छन्।

परम्परागत खेतीभन्दा व्यावसायिक तरकारी खेतीलाई प्राथमिकता दिँदै आएका उनीहरूले उत्पादन र बिक्रीलाई निरन्तरता दिँदै आफ्नो कृषि व्यवसायलाई अगाडि बढाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij