जुम्ला। पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित ४९ परिवारलाई राहत वितरण गरेको छ।
रोजगारीका लागि रसुवा पुगेका पातारासी गाउँपालिकाका ४९ जना बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारलाई राहत उपलब्ध गराइएको हो।
गाउँपालिकाले बाढीपीडित प्रत्येक परिवारलाई ३० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको जनाएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत कुल १४ लाख ७० हजार रुपैयाँ राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए), ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट साउथपोर्ट, यूके र लिभरपुल नेपाली समाजको संयुक्त सहयोगमा पाँच लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
बाढीका कारण आफन्त बेपत्ता भएपछि प्रभावित परिवारहरू कठिन परिस्थितिमा रहेकाले उनीहरूलाई राहत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।