२०८३ कार्तिक ३ सोमबार

जलजलामा बाढीपहिरोबाट ३१६ घरमा क्षति, १२६ घर पूर्ण रूपमा नष्ट

ई आर्थिक    सोमबार, कार्तिक ३ २०८३
285
Shares
जलजलामा बाढीपहिरोबाट ३१६ घरमा क्षति, १२६ घर पूर्ण रूपमा नष्ट

म्याग्दी ।  पछिल्लो मनसुनजन्य विपद्का कारण पर्वतको जलजला गाउँपालिकामा ३१६ घरमा क्षति पुगेको छ। गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा गएको पहिरोले ३०० भन्दा बढी घरपरिवार प्रभावित भएका हुन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार विपद्का कारण १२६ घर पूर्ण रूपमा क्षति भएका छन् भने ५० घरमा आंशिक क्षति पुगेको छ। थप १४० घर जोखिममा रहेको विवरण संकलन गरिएको उनले जानकारी दिए।

बाढीपहिरोले निजी आवासमा मात्रै नभई कोदो, धानलगायत खाद्यबाली, सुन्तलाखेती, खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका लागि निर्माण गरिएका पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

फर्सेमा सबैभन्दा बढी क्षति

गाउँपालिकाका अनुसार वडा नं. ८ स्थित फर्सेमा सबैभन्दा बढी क्षति भएको छ। कालीगण्डकी नदीको बाढीले त्यहाँ ७५ घर बगाएको छ भने थप २७ घर जोखिममा परेका छन्।

फर्सेसँगै वडा नं. ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं. ४ को लामाखेत क्षेत्र पनि बाढीपहिरोबाट प्रभावित भएका छन्। पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए।

उनका अनुसार पहिरोले बस्ती घेरिएको छ भने जमिन चिराचिरा परेकाले घरका पर्खालसमेत असुरक्षित बनेका छन्। जोखिम बढेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानमा सरेर अस्थायी टहरा बनाई बस्न थालेका छन्।

अस्थायी आवास र पुनर्निर्माणको योजना

बाढीपहिरोबाट प्रभावितमध्ये अन्यत्र घर नभएका र आफैँ बसोबासको व्यवस्था गर्न नसक्ने परिवारलाई अस्थायी शिविरमा राखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तथा अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाइएको बताए।

उनका अनुसार तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी आवासको व्यवस्था मिलाइनेछ। दीर्घकालीन रूपमा भने सरकारको नीतिअनुसार क्षतिग्रस्त निजी आवास तथा भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ।

बाढीपहिरोबाट क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ तथा विद्यालय भवनको पुनर्निर्माण गर्नुका साथै जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष आचार्यले बताए।

विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij