काठमाडौं । महिला उद्यमशीलताको प्रवर्द्धन, व्यवसाय विस्तार र वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले एक अर्ब रुपैयाँको ‘सिम्रिक इनिसिएटिभ’ सुरु गरेको छ। ‘महिलाका लागि, महिलाद्वारा’ भन्ने अवधारणामा आधारित यस पहलले सम्भावनायुक्त महिला उद्यममा लगानी गर्नुका साथै उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको पूँजी तथा कर्जामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।
सिम्रिक इनिसिएटिभले मुख्यतः तीन क्षेत्रमा काम गर्नेछ। पहिलो, आध्यन्त एक्सेलेरेटर प्रोग्राममार्फत महिला उद्यमीको क्षमता अभिवृद्धि तथा व्यवसाय विकासमा सहयोग गरिनेछ। दोस्रो, उच्च वृद्धि सम्भावना भएका, महिलाद्वारा सञ्चालित तथा महिलालाई लक्षित वस्तु र सेवा प्रदान गर्ने व्यवसायमा एक अर्ब रुपैयाँको ‘सिम्रिक नारी फन्ड’मार्फत लगानी गरिनेछ। तेस्रो, बैंक तथा वित्तीय संस्थाबाट कर्जा आवश्यक पर्ने साना तथा मझौला उद्यमलाई उपयुक्त वित्तीय संस्थासँग जोडेर वित्तीय पहुँच विस्तार गरिनेछ।
सिम्रिक नारी फन्डमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुख्य (एङ्कर) लगानीकर्ताका रूपमा आबद्ध भएको छ।
धितोभन्दा व्यवसायको सम्भावनालाई प्राथमिकता
आध्यन्त फन्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेलले परम्परागत वित्तीय प्रणालीले घरजग्गाको धितोलाई प्राथमिकता दिँदा सम्भावना भएका व्यवसायले आवश्यक पूँजी प्राप्त गर्न नसकेको बताए।
उनका अनुसार व्यवसायको नगद प्रवाह, ग्राहकको विश्वास र भविष्यमा विस्तार हुन सक्ने सम्भावनालाई समेत लगानीको आधार बनाउन आवश्यक छ। बैंकबाट कर्जा प्राप्त गर्न नसक्नु र कुनै व्यवसाय लगानीयोग्य नहुनु फरक विषय भएको उल्लेख गर्दै उनले सिम्रिक इनिसिएटिभले धितोमा मात्र केन्द्रित नभई व्यवसायको सम्भावना र क्षमताका आधारमा लगानीका अवसर पहिचान गर्ने बताए।
यस पहलअन्तर्गत आध्यन्तको एक्सेलेरेटर प्रोग्राममा सहभागी भएर व्यवसाय विकास गरेका उद्यममध्ये लगानीको सम्भावना देखिएका व्यवसायलाई सिम्रिक नारी फन्डमार्फत लगानीका लागि मूल्याङ्कन गरिनेछ। त्यस्तै, बैंक कर्जा आवश्यक पर्ने साना तथा मझौला उद्यमलाई उपयुक्त बैंक तथा वित्तीय संस्थासँग जोड्न सहजीकरण गरिनेछ।

ग्लोबल आईएमई बैंकसँग साझेदारी
सिम्रिक इनिसिएटिभको कार्यान्वयन तथा वित्तीय पहुँच विस्तारका लागि आध्यन्त फन्ड म्यानेजमेन्ट र ग्लोबल आईएमई बैंकबीच बैंकिङ साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
त्यसैगरी, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल र संयुक्त दिगो विकास लक्ष्य कोषसँगको सहकार्यमा कृषि तथा खाद्य मूल्य शृङ्खलामा आबद्ध महिला नेतृत्वका २० उद्यमलाई वित्तीय योजना निर्माण, ब्रान्डिङ र लगानीको तयारीमा सहयोग भइरहेको छ।
यस कार्यक्रमले महिला उद्यमीलाई लगानीका लागि तयार पार्नुका साथै उनीहरूको व्यवसाय विस्तार र वित्तीय संस्थासम्मको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
महिला उद्यमशीलताले उत्पादनशील अर्थतन्त्रमा योगदान पुर्याउने
कार्यक्रमकी प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महिला उद्यमशीलताको प्रवर्द्धनले उत्पादनशील अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्।
उनले धितोको अभावकै कारण महिलाका व्यावसायिक सम्भावनालाई सीमित गर्न नहुने धारणा व्यक्त गरिन्। महिला उद्यमीलाई आवश्यक पूँजी, वित्तीय सेवा र व्यवसाय विस्तारका अवसर उपलब्ध गराउन यस्ता पहल महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
कार्यक्रममा एफएओ नेपालका कार्यवाहक प्रतिनिधि अरुण जीसी, आध्यन्तकी कार्यक्रम संयोजक प्रतिष्ठा पौडेल, नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह तथा आध्यन्तकी कानुनी तथा अनुपालन प्रमुख एवं सिम्रिक फन्डकी लगानी प्रबन्धक आश्मा मैनालीलगायतको उपस्थिति थियो।
सिम्रिक इनिसिएटिभको उद्देश्य महिला उद्यमीलाई पूँजी उपलब्ध गराउनुमा मात्र सीमित छैन। व्यवसाय विकास, लगानीका अवसरको पहिचान र वित्तीय सेवामा पहुँच विस्तारमार्फत महिला नेतृत्वका उद्यमलाई दिगो रूपमा अघि बढाउन सहयोग गर्नु पनि यसको लक्ष्य हो।
धितोको अभावका कारण सम्भावनायुक्त व्यवसाय लगानीबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सुरु गरिएको यस पहलले महिला उद्यमशीलताको विकास र विस्तारमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।