काठमाडौं । नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीले २१औँ शताब्दीको ब्युटी उद्योगलाई सौन्दर्य सेवामा मात्र सीमित नराखी नेतृत्व विकास, रोजगारी, महिला उद्यमशीलता र आर्थिक विकाससँग जोड्नुपर्ने बताएकी छन्।
शनिबार आयोजित ‘फेस अफ आईसीटी आइकन २०२६’ कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले ब्युटी पार्लरलाई सौन्दर्य सेवा प्रदान गर्ने स्थानसँगै सीप विकास, रोजगारी सिर्जना, नेतृत्व विकास र महिला आर्थिक सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्।
उनले महिलालाई ब्युटीसम्बन्धी सीपसँगै व्यवसाय व्यवस्थापन, डिजिटल प्रविधि, वित्तीय साक्षरता, ग्राहक सेवा, स्वास्थ्य तथा सरसफाइ र बजार व्यवस्थापनसम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताइन्।
‘एउटी महिलाले ब्युटीको सीप सिक्छिन्। सीपबाट रोजगारी पाउँछिन्। रोजगारीबाट आम्दानी हुन्छ। आम्दानीबाट परिवारको जीवनस्तर सुधारिन्छ। त्यसपछि उनी आफैँ उद्यमी बन्छिन् र अरूलाई रोजगारी दिन्छिन्,’ ज्ञवालीले भनिन्।
उनका अनुसार सौन्दर्य क्षेत्रले व्यक्तिको बाहिरी रूपरंगमा मात्र परिवर्तन ल्याउने नभई परिवार, समाज र राष्ट्रको आर्थिक विकासमा समेत योगदान पुर्याउन सक्छ।
‘सुन्दर देखिनु राम्रो हो, तर सुन्दर भविष्य निर्माण गर्नु अझ ठूलो कुरा हो,’ उनले भनिन्।

ज्ञवालीले महिलाको सशक्तीकरण र उद्यमशीलतालाई प्रोत्साहन गर्न सके मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। आफ्नै सीप र क्षमताका आधारमा अघि बढिरहेका युवालाई प्रोत्साहन र हौसला प्रदान गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सौन्दर्य क्षेत्र बाहिरी रूपरंगमा मात्र सीमित नभई आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक सहभागितासँग समेत जोडिएको चर्चा गरिएको थियो। सहभागीहरूले आफूलाई आत्मविश्वासी महसुस गर्दा कार्यक्षमता, सामाजिक व्यवहार तथा नेतृत्व क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने बताएका थिए।
पछिल्लो समय नेपालमा ब्युटी पार्लर तथा सौन्दर्य व्यवसायमार्फत ठूलो संख्यामा महिलाहरू उद्यमीका रूपमा स्थापित भइरहेका छन्। आफ्नै व्यवसाय सञ्चालन गर्नुका साथै उनीहरूले अन्य महिलालाई रोजगारी प्रदान गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउनसमेत भूमिका खेलिरहेका छन्।
सौन्दर्य क्षेत्रले नेपालमै रोजगारीका अवसर सिर्जना गर्दै वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्नसमेत योगदान पुर्याइरहेको कार्यक्रममा बताइएको थियो। यस क्षेत्रमा महिलासँगै पुरुषहरूको समेत उल्लेख्य सहभागिता रहेको छ।