२०८३ असोज २३ शुक्रबार

संवेदनशील सूचना चुहाएको आरोपमा एआइजी वंशीराज दाहाल बर्खास्त

ई आर्थिक    शुक्रबार, असोज २३ २०८३
171
Shares
संवेदनशील सूचना चुहाएको आरोपमा एआइजी वंशीराज दाहाल बर्खास्त

काठमाडौँ । राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत बाहिर पुर्‍याएको आरोपमा सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई बर्खास्त गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दाहाललाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

दाहालमाथि संवेदनशील सूचना चुहाएको आरोप लागेपछि सशस्त्र प्रहरी बलका एआइजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङसमक्ष प्रतिवेदन बुझाउँदै दाहालले पदीय आचरणविपरीत गतिविधि गरेको निष्कर्ष निकालेको थियो। समितिले उनलाई सेवाबाट बर्खास्त गर्नसमेत सिफारिस गरेको थियो।

यसअघि संवेदनशील सूचना चुहावटको प्रकरणमा गृह मन्त्रालयले दाहाललाई निलम्बन गरी थप अनुसन्धान अघि बढाएको थियो। छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ मा सेवाबाट हटाउने तथा बर्खास्त गर्नेसम्मका विभागीय सजायको व्यवस्था छ। त्यस्तै, नियम ११५ अनुसार एआइजीलाई विभागीय सजाय दिने अधिकार गृहमन्त्रीलाई रहेको छ।

नियमअनुसार विभागीय सजायमा चित्त नबुझेमा नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष पुनरावेदन गर्न सकिने व्यवस्था छ।

दाहालको चारवर्षे पदावधि आगामी असोज २८ गते पूरा हुँदै थियो। सशस्त्र प्रहरी बल मुख्यालयले उनको पदावधि एक वर्ष थप गर्न सिफारिससमेत गरेको थियो। तर, बर्खास्तीको निर्णयसँगै उनको पदावधि थप हुने सम्भावना समाप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij