२०८३ असोज २२ बिहिबार

आईडियल साकोसको २७औँ वार्षिक साधारण सभाअन्तर्गत पहिलो इकाइसभा सम्पन्न

ई आर्थिक    बिहिबार, असोज २२ २०८३
437
Shares
आईडियल साकोसको २७औँ वार्षिक साधारण सभाअन्तर्गत पहिलो इकाइसभा सम्पन्न

१८ हजार ५६२ शेयर सदस्य, १ अर्ब १९ करोडभन्दा बढी बचत

राजविराज । सप्तरीको आईडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभाअन्तर्गत पहिलो इकाइसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष गणेशकुमार आशको अध्यक्षतामा सम्पन्न सभामा उनले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वर्तमान अवस्था, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

अध्यक्ष आशका अनुसार करिब २८ वर्षअघि व्यवसायी, शिक्षक, बुद्धिजीवी तथा समाजसेवी अगुवाहरूको पहलमा ४२ जना सदस्यले प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले जम्मा गरेको ४२ हजार रुपैयाँ बीउ पुँजीबाट संस्था स्थापना भएको थियो।

हाल संस्थामा १८ हजार ५६२ जना शेयर सदस्य रहेका छन्। संस्थाको चुक्ता शेयर पुँजी १२ करोड ५६ लाख ५१ हजार ६ सय रुपैयाँ, जगेडा कोष १४ करोड २६ लाख ७५ हजार ८७७ रुपैयाँ, कुल बचत १ अर्ब १९ करोड ६० लाख ४७ हजार ८४१ रुपैयाँ र कुल ऋण लगानी ७५ करोड ४ लाख ८६ हजार २२३ रुपैयाँ पुगेको अध्यक्ष आशले जानकारी दिए। उनका अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब ४८ करोड १३ लाख १४ हजार १७७ रुपैयाँ रहेको छ।

अध्यक्ष आशले सहकारीको केन्द्रमा सदस्य रहने बताउँदै सदस्य सन्तुष्ट भए मात्र सहकारीको सफलता सुनिश्चित हुने धारणा व्यक्त गरे। ‘सहकारी बोक्रा हो भने सदस्य गुदी हुन्’ भन्ने अवधारणा अघि सार्दै उनले सदस्यको आवश्यकता र बजारको मागअनुसार सेवा सञ्जाल विस्तार गर्दै नयाँ क्षेत्र पहिचान गरी संस्था अघि बढिरहेको बताए।

सहकारी ऐन, नियमावली, मापदण्ड तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी निर्देशन र मापदण्डका कारण अवसरसँगै केही चुनौती पनि थपिएको उनको भनाइ थियो। उनले केन्द्रीय तथा प्रदेश सहकारी ऐन संशोधन गर्दा सबै निकायका निर्देशन र मापदण्डमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिए।

सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गरेका संस्थालाई सहज वातावरण निर्माण भए पनि सदस्य केन्द्रित नयाँ व्यवसाय गर्न नपाउने प्रावधानले बचत तथा ऋण सहकारी संस्थालाई लगानीका क्षेत्रमा चुनौती थपेको उनले बताए।

विभिन्न सहकारीमा देखिएको खराब सुशासन, राजनीतिक अस्थिरता तथा व्यापार–व्यवसायमा आएको मन्दीका बीच पनि संस्थाले अघिल्लो वर्ष तय गरेका अधिकांश कार्यक्रम सम्पन्न गरेको अध्यक्ष आशले बताए। उनका अनुसार संस्थाले केही नयाँ कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ।

डिजिटल वित्तीय सहकारी बनाउने लक्ष्य

अध्यक्ष आशले संस्थालाई आधुनिक प्रविधिमा आधारित ‘डिजिटल वित्तीय सहकारी संस्था’ का रूपमा स्थापित गर्ने अभियान अघि बढाइने बताए।

उनका अनुसार आधुनिक प्रविधिको एकीकृत सेवा, नवीनतम प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित एकीकृत साक्षरता कार्यक्रम, सदस्यको उद्यमशीलता विकास, निजी क्षेत्र तथा सरकारी निकायसँग सहकार्य, युवा तथा महिला केन्द्रित कार्यक्रम, प्रविधि र क्षमता अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

संस्थाले जन्मदेखि स्वर्गसम्म सदस्य सेवा दिने उद्देश्यले विभिन्न उमेर समूहलाई लक्षित गर्दै सदस्य स्वागत, सुत्केरी भत्ता, बाल बचत खाता, विद्यालय जाने बाल बचतकर्तालाई आईडियलको स्टेशनरीसहित झोला वितरण, बचतकर्तालाई जन्मदिनमा केक वितरण, ऋण बीमा, तालिम तथा मृतक राहतलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

त्यस्तै, ‘स्कुल–स्कुलमा आईडियल’, ‘युवासँग आईडियल साकोस’, युवा सञ्जाल विस्तार, अक्षय कोषमा रकम वृद्धि, महिला सशक्तीकरण, ज्येष्ठ सदस्य सम्मान, सदस्य सहुलियत स्वास्थ्य सुरक्षा, आकस्मिक राहत ऋण, कृषि तथा उत्पादन क्षेत्र प्रवद्र्धन, उद्यमशीलता प्रोत्साहन, ‘समुदायका लागि मेरो योगदान’ तथा ज्येष्ठ नागरिकलाई टेक्ने लठीलगायतका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।

संस्थाले नयाँ सदस्य सेवा कार्यक्रमलाई समेत चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरी योजनाबद्ध रूपमा सञ्चालन गर्ने जनाएको छ।

साधारण सभामा विभिन्न प्रतिवेदन प्रस्तुत

सभामा संस्थाका सचिव शैलेशकुमार चौधरीले आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम प्रस्तुत गरे।

त्यस्तै, कोषाध्यक्ष मञ्जुदेवी शाहले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगतिको समीक्षा, आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित कार्यक्रम तथा आर्थिक वर्ष २०८४/०८५ का लागि अनुमानित वित्तीय लक्ष्य र बजेट प्रस्तुत गरिन्।

लेखा सुपरिवेक्षण समितिका संयोजक दिनेशकुमार साहकसेराले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोदकुमार साफीले सञ्चालन गरेका थिए।

संस्थाले असोज २१ गते हनुमाननगर सेवाकेन्द्रबाट इकाइगत रूपमा सुरु गरेको साधारण सभा असोज २२ गते पातो सेवाकेन्द्र र २३ गते राजविराज सेवाकेन्द्रमा सञ्चालन गर्ने जनाएको छ। त्यसपछि असोज २६ गते इकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा आयोजना गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij