काठमाडौँ । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवाको डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले बिहान ५ः२० बजे मृत घोषणा गरेका हुन्।
प्रारम्भिक विवरणअनुसार पाटेकरको निधन हृदयाघात (कार्डियाक अरेस्ट) का कारण भएको हो। मणिपाल अस्पतालका ओन्कोलोजी विभाग प्रमुख डा. शेखर सालकरका अनुसार चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म सीपीआर गरेर उनलाई बचाउने प्रयास गरेको थियो। तर, उपचारका क्रममा कुनै प्रतिक्रिया नआएपछि उनलाई मृत घोषणा गरिएको हो।
अस्पतालका अनुसार घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ भने निधनको यकिन कारण पुष्टि गर्न पोस्टमार्टम गरिनेछ। पाटेकरको निधनको परिस्थितिबारे परिवारका तर्फबाट विस्तृत जानकारी आउन बाँकी छ।
‘परिंदा’देखि ‘वेलकम’सम्मको सम्झनलायक अभिनय
हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकरले ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए।
शक्तिशाली अभिनय, विशिष्ट संवाद अदायगी र पर्दामा प्रभावशाली उपस्थितिका कारण उनले भारतीय सिनेमामा छुट्टै पहिचान बनाएका थिए। हिन्दी र मराठी दुवै चलचित्र क्षेत्रमा उनको योगदानलाई महत्वपूर्ण मानिन्छ।
पाटेकरको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्र तथा उनका प्रशंसकमाझ शोक छाएको छ।
अन्तिम संस्कारको विवरण आउन बाँकी
पाटेकरको अन्तिम संस्कार कहिले र कहाँ गरिने भन्नेबारे परिवारका तर्फबाट औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन। परिवारको आधिकारिक वक्तव्य तथा अन्तिम संस्कारसम्बन्धी थप विवरण आउन बाँकी छ।