२०८३ असोज २३ शुक्रबार

निर्माण व्यवसायीका दीर्घकालीन समस्या समाधानमा पहल गरेको भन्दै महासंघलाई नेपाल निर्माण उद्योग परिषद्को सम्मान

ई आर्थिक    बुधबार, असोज २१ २०८३
475
Shares
निर्माण व्यवसायीका दीर्घकालीन समस्या समाधानमा पहल गरेको भन्दै महासंघलाई नेपाल निर्माण उद्योग परिषद्को सम्मान

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान कार्यसमितिले निर्माण व्यवसायीका दीर्घकालीन समस्या समाधान तथा पूर्वाधार क्षेत्रको सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै बधाई तथा सम्मान व्यक्त गरेको छ।

परिषद्का अध्यक्ष बलिभद्र रानाको नेतृत्वमा बुधबार महासंघ पुगेको प्रतिनिधिमण्डलले अध्यक्ष निकोलस पाण्डेलाई भेटेर महासंघको वर्तमान कार्यसमितिलाई बधाईसहित सम्मान गरेको हो।

परिषद्ले महासंघ अध्यक्ष पाण्डे नेतृत्वको कार्यसमितिले पूर्वाधार क्षेत्रको समग्र सुधारका लागि देखाएको सक्रियता, दृढ इच्छाशक्ति, समन्वयकारी भूमिका र परिणाममुखी कार्यसम्पादन प्रशंसनीय रहेको जनाएको छ।

सार्वजनिक खरिद ऐन संशोधनलाई उपलब्धि मान्दै प्रशंसा

परिषद्का अनुसार करिब दुई दशकदेखि निर्माण व्यवसायीले उठाउँदै आएको सार्वजनिक खरिद ऐन, २०८३ संशोधनको विषयलाई निर्णायक रूपमा अघि बढाउन महासंघको वर्तमान कार्यसमितिले महत्वपूर्ण भूमिका खेलेको छ।

व्यवसायीका दीर्घकालीन मागलाई कानुनी रूपमा सम्बोधन गराउन महासंघले प्रभावकारी पहल गरेको परिषद्को भनाइ छ।

त्यस्तै, निर्माण व्यवसायीको प्रमुख मागका रूपमा रहेको सार्वजनिक खरिद प्रणालीमा औसत दर प्रणाली लागू गराउनु पनि वर्तमान कार्यसमितिको महत्वपूर्ण उपलब्धि भएको परिषद्ले जनाएको छ।

महासंघको पहलमा व्यवसायमैत्री हुने गरी सार्वजनिक खरिद नियमावलीको पन्ध्रौँ तथा सोह्रौँ संशोधन हुनुका साथै नेपाल राष्ट्र बैंकबाट व्यवसायमैत्री मौद्रिक नीति जारी हुनु सकारात्मक उपलब्धि भएको परिषद्को निष्कर्ष छ।

सातै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा

परिषद्ले निर्माण व्यवसायीका प्राविधिक तथा कानुनी समस्या समाधानका लागि महासंघले सबै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा स्थापना गर्नु पनि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

लामो समयदेखि विभिन्न प्राविधिक तथा कानुनी समस्या झेल्दै आएका व्यवसायीलाई सम्बन्धित प्रदेशमै सेवा तथा समस्या समाधानको अवसर प्रदान गर्ने उद्देश्यले शाखा स्थापना गरिएको परिषद्का अध्यक्ष बलिभद्र रानाले बताए।

उनका अनुसार यसले निर्माण व्यवसायीलाई आफ्ना समस्या समाधानका लागि केन्द्र धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ।

स्वदेशी तथा विदेशी मञ्चमा पूर्वाधारका मुद्दा उठाएको दाबी

परिषद्ले महासंघले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा समेत अर्थपूर्ण सहभागिता जनाउँदै आएको जनाएको छ।

त्यसैगरी, महासंघको वर्तमान कार्यसमितिले स्वदेशी तथा विदेशी विभिन्न मञ्चमा नेपालको पूर्वाधार विकाससँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको परिषद्को भनाइ छ।

परिषद्ले निर्माण क्षेत्रको सुधार, व्यवसायीका समस्या समाधान तथा पूर्वाधार विकासका मुद्दामा महासंघले देखाएको सक्रियतालाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा समेत यस्ता पहललाई निरन्तरता दिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij