२०८३ असोज २१ बुधबार

एमसिसीको प्रसारण लाइन : नेपाल–भारतबीच डिसेम्बरदेखि २०० केभी विद्युत् आदानप्रदान गर्ने तयारी

ई आर्थिक    बुधबार, असोज २१ २०८३
171
Shares
एमसिसीको प्रसारण लाइन : नेपाल–भारतबीच डिसेम्बरदेखि २०० केभी विद्युत् आदानप्रदान गर्ने तयारी

परासी । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालले निर्माण गरिरहेको नेपाल–भारत सीमापार विद्युत् प्रसारण लाइनमार्फत आगामी डिसेम्बरदेखि दुई देशबीच २०० केभी क्षमतामा विद्युत् आदानप्रदान सुरु गर्ने तयारी गरिएको छ।

चार सय केभी क्षमताको प्रसारण आयोजना भए पनि नेपालतर्फको ४०० केभी सबस्टेसन निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएकाले तत्कालका लागि सञ्चालनमा रहेको २०० केभी प्रणालीमार्फत विद्युत् आदानप्रदान सुरु गर्न लागिएको हो।

नेपालतर्फ नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित न्यु बुटवल सबस्टेसनदेखि भारतको सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनमा टावर तथा तार जडानको काम सम्पन्न भइसकेको छ।

भारततर्फ भने सीमादेखि गोरखपुरसम्मको करिब ९६ किलोमिटर खण्डमा टावर तथा प्रसारण लाइन निर्माण तीव्र गतिमा भइरहेको छ। गोरखपुरमा ४०० केभी सबस्टेसनका लागि आवश्यक पूर्वाधारसमेत तयार भइसकेको बताइएको छ।

२०० केभी प्रणालीबाट तत्काल विद्युत् प्रवाह

नेपाल विद्युत् प्राधिकरण, न्यु बुटवल सबस्टेसनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रका अनुसार नेपालतर्फ निर्माण भइरहेको ४०० केभी सबस्टेसन सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यसअघि न्यु बुटवल सबस्टेसनमा तयारी अवस्थामा रहेको २०० केभी प्रणालीलाई भारततर्फको प्रसारण लाइनसँग जोडेर विद्युत् आदानप्रदान सुरु गरिनेछ।

मिश्रका अनुसार समग्र आयोजना ४०० केभी क्षमताको भए पनि सबस्टेसन निर्माण पूरा हुन समय लाग्ने भएकाले प्रारम्भिक चरणमा २०० केभी प्रणालीबाट विद्युत् प्रवाह गर्न लागिएको हो।

उनले नेपाल र भारतबीच आवश्यक स्वीकृति तथा प्राविधिक प्रक्रिया पूरा भएपछि विद्युत् आदानप्रदान सुरु हुने बताए।

२०२७ पछि पूर्ण क्षमतामा सञ्चालन

दुवै देशतर्फको प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ। सन् २०२६ डिसेम्बरसम्म नेपाल–भारत प्रसारण लाइन जोडेर विद्युत् आदानप्रदान सुरु गर्ने लक्ष्य राखिएको छ।

सन् २०२७ को अन्त्यसम्म नेपालतर्फको ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ। त्यसपछि नेपाल र भारतबीच उच्च क्षमतामा विद्युत् आयात–निर्यात तथा आदानप्रदान गर्न सकिनेछ।

एमसिए–नेपालका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधअनुसार न्यु बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर खण्डमा टावर तथा प्रसारण लाइन निर्माणको काम निर्धारित समयसीमाभित्रै सम्पन्न गरिएको हो।

यो सीमापार प्रसारण लाइन सञ्चालनमा आएपछि नेपाल–भारतबीच विद्युत् आदानप्रदानका लागि थप महत्वपूर्ण पूर्वाधार तयार हुनेछ। ४०० केभी प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि नेपालको विद्युत् बजार विस्तार तथा भारतसँगको विद्युत् व्यापारमा समेत थप सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij