काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने भएको छ। आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनलाई थप भरपर्दो बनाउन प्राधिकरणले बिहीबारदेखि विभिन्न क्षेत्रमा आंशिक विद्युत् कटौती गर्दै भूमिगत वितरण सञ्जालमा विद्युत् प्रवाह सुरु गर्न लागेको हो।
प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् प्रणाली सञ्चालनका लागि असोज १५ देखि २६ गतेसम्म विद्युत् आपूर्ति कटौती गरिनेछ।
सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरी भूमिगत लाइन सञ्चालन तथा आवश्यक प्राविधिक काम गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते सतुङ्गल–बौथली क्षेत्रमा विद्युत् कटौती हुनेछ। असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसीचोक, असोज १७ गते मूलपानी र असोज १८ गते गर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।
त्यस्तै, असोज २० गते मूलपानी, असोज २१ गते बलम्बु, असोज २२ गते कोटेश्वर–बालकुमारी, असोज २४ गते सिफल, असोज २५ गते सतुङ्गल–धवलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा विद्युत् कटौती गरी भूमिगत लाइनसम्बन्धी काम गरिनेछ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित समयअनुसार विद्युत् कटौती नगरिने जनाएको छ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ। पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माण गरिएको थियो।
त्यसपछि दोस्रो चरणमा काठमाडौं जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइँदैछ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा बढ्ने अपेक्षा गरिएको बताए।
उनका अनुसार वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउँदै लैजान र सहरी सौन्दर्य कायम गर्न पनि भूमिगत विद्युत् प्रणालीले सहयोग पुर्याउनेछ।
सडक तथा सहरी क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवाप्रदायकका तार अव्यवस्थित तथा गुजुल्टिएर रहने अवस्थाबाट हुने आगलागी र अन्य जोखिम न्यूनीकरणमा समेत भूमिगत प्रणाली उपयोगी हुने प्राधिकरणको भनाइ छ।