वीरगञ्ज । सरकारी सवारीसाधन लिएर क्यासिनो पुगेका पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले अध्यक्ष यादव पक्राउ परेको पुष्टि गरेका छन्।
डीएसपी मल्लका अनुसार प्रहरीले नियमित छड्के चेकजाँचका क्रममा शनिबार राति वीरगञ्ज–गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोमा पुगेको थियो। सो क्रममा अध्यक्ष यादवसहित आठ जना नेपाली नागरिकलाई क्यासिनोबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो सहित अध्यक्ष यादवलाई शनिबार राति करिब ११ बजे नियन्त्रणमा लिएको जनाएको छ।
डीएसपी मल्लले पक्राउ परेका यादवसहित आठ जनामाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्जमा हाल सुरज होटलमा एक, सिद्धार्थ दियालो होटलमा दुई, सरोवरमा तीन र क्लार्क रिसोर्ट होटलमा एउटा क्यासिनो सञ्चालनमा छन्।
होटल भिस्वालगायत केही अन्य होटलमा क्यासिनो भए पनि हाल सञ्चालनमा नरहेको प्रहरीले जनाएको छ।