काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्वपूर्ण कागजात फेला परेमा आफूसँग नराख्न र बिक्री–वितरण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले आइतबार भिडियो सन्देश जारी गर्दै बाढीका क्रममा हराएका सामान तथा कागजात फेला परेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।
बाढीका कारण सर्वसाधारणका सुनचाँदी, नगद, एटीएम कार्ड, चेकबुक, नागरिकता, राहदानीलगायत महत्वपूर्ण कागजात तथा विभिन्न धनमाल हराएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेको धनमाल वा कागजात आफूखुसी प्रयोग गर्ने, लुकाउने, आफूसँग राख्ने वा खरिद–बिक्री गर्ने कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसूर मानिन्छ। यस्तो कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।
त्यसैगरी, हराएको धनमाल वा महत्वपूर्ण कागजातबारे कुनै जानकारी प्राप्त भएमा तत्काल प्रहरीलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ। फेला परेको सामान वास्तविक हकदारसम्म पुर्याउन सहयोग गर्नसमेत प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रहरीले सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने जनाएको छ।