नुवाकोट । भोटेकोशी बाढीका कारण सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले अस्थायी एक्रो ब्रिज जडान गर्न थालेको छ।
बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि यातायात सम्पर्क प्रभावित भएको क्षेत्रमा आवागमन सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अघि बढाएको हो।
सेनाको प्राविधिक टोलीले पुल जडानका लागि आवश्यक तयारी तथा संरचना निर्माणको काम गरिरहेको छ। अस्थायी प्रकृतिको उक्त पुल जडान भएपछि बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एक्रो ब्रिज सञ्चालनमा आएपछि स्थानीयवासी तथा यात्रुहरूको आवागमन सहज हुनुका साथै प्रभावित क्षेत्रमा आवश्यक सामग्रीको ढुवानीसमेत सहज हुने विश्वास गरिएको छ।