पाँच बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा काठका आकर्षक संरचना, २० कोठा सञ्चालनमा
भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ मा करिब एक अर्ब रुपैयाँ लगानीमा नयाँ पर्यटकीय रिसोर्ट सञ्चालनमा आएको छ । चिलिया वनसँग जोडिएको पाँच बिघा क्षेत्रफलमा निर्माण गरिएको टाइगर फरेस्ट होटलमा आवास, खानपिन तथा मनोरञ्जनका विभिन्न सुविधा उपलब्ध छन् ।
रिसोर्टका अधिकांश संरचना सल्लाको काठ प्रयोग गरेर निर्माण गरिएका छन् । होटलका कोठा, रेस्टुरेन्ट, बार तथा भिल्लासमेत काठबाटै तयार पारिएका छन् । कलात्मक काठका संरचना र हरियाली वातावरणका कारण खानपिनका लागि आउने ग्राहकसँगै फोटो तथा भिडियो खिच्न आउनेको सङ्ख्या पनि बढिरहेको सञ्चालक मीनराज भुसालले बताउनुभयो ।
होटलका महाप्रबन्धक क्षितिजविक्रम खनालका अनुसार रिसोर्टको पश्चिमतर्फ एक हजार जना क्षमताको बैङ्क्वेट हल निर्माण अन्तिम चरणमा पुगेको छ । भारतबाट विवाह तथा अन्य समारोहका लागि आउने पाहुनालाई लक्षित गरी कलात्मक शैलीमा हल निर्माण भइरहेको उहाँले बताउनुभयो ।
हाल रिसोर्टमा २० वटा कोठा सञ्चालनमा छन् । कोठाको अगाडि काठबाट निर्माण गरिएको रेस्टुरेन्टका साथै छुट्टै ‘चौतारी रेस्टुरेन्ट’ समेत सञ्चालनमा छ । चौतारी रेस्टुरेन्टमा स्थानीय कुखुरा र हाँसका विभिन्न परिकार उपलब्ध हुने होटलले जनाएको छ ।
ग्राहकको मागअनुसार कुखुरा तथा हाँस काटेर दिने र ग्राहक आफैँले पकाएर खान सक्ने व्यवस्था पनि गरिएको छ । यसले स्थानीय स्वादका परिकारको अनुभव लिन चाहने ग्राहकलाई आकर्षित गरिरहेको व्यवस्थापनको भनाइ छ ।
रिसोर्टमा नेपालीसँगै भारतीय ग्राहकको आगमनसमेत बढ्न थालेको छ । नजिकै रहेको टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोका कारण भारतीय पर्यटकको आवागमन बढेकाले त्यसको लाभ रिसोर्टले समेत पाउन थालेको होटल व्यवस्थापनले जनाएको छ ।
सञ्चालक भुसालका अनुसार रिसोर्टमा थप लगानी गर्ने तयारी भइरहेको छ । तर, काठ प्रयोग गरेर निर्माण गरिएका संरचनाका कारण स्थानीय तहबाट निर्माण सम्पन्न प्रमाणपत्र लिन समस्या भइरहेको उहाँको गुनासो छ ।
काठबाट निर्माण गरिएका होटल तथा पर्यटकीय संरचनाका लागि स्पष्ट कार्यविधि नभएका कारण प्रमाणपत्र जारी गर्न समस्या भइरहेको भुसालले बताउनुभयो । उहाँले यस्ता पर्यटकीय संरचनालाई प्रोत्साहन गर्न आवश्यक स्पष्ट व्यवस्था गर्न स्थानीय तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।
जुम्लाबाट सल्लाको काठ ल्याएर रिसोर्टका संरचना निर्माण गरिएको जनाउँदै भुसालले काठको प्रयोगबाट निर्माण हुने पर्यटकीय संरचनालाई पनि राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।