२०८३ भाद्र १९ शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार टोली प्रवेश, थप डेब्रिस हटाउने काम जारी

ई आर्थिक    बिहिबार, भाद्र १८ २०८३
266
Shares
त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार टोली प्रवेश, थप डेब्रिस हटाउने काम जारी

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र पारिएको छ।

आयोजनाका सुरुङ तथा मुख्य संरचना बाढीले पुरिएपछि भित्र मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको उद्धार टोली खोजी तथा उद्धारमा खटिएको छ। टोलीले ५ वटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरलगायतका उपकरण प्रयोग गरिरहेको छ।

सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचना तथा ठूला ढुंगासहितको डेब्रिस थुप्रिएको थियो। रातदिन निरन्तर काम गरेपछि माथिबाट करिब ३ फिटसम्म सुरुङको मुख खुलाइएको छ।

उद्धार टोली सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेको बताइएको छ। तर एक्स्क्याभेटर तथा अन्य मेसिन सुरुङभित्र लैजानका लागि मुख पूर्णरूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ। थप ७ वटा ठूला ढुंगा ब्लास्टिङमार्फत हटाउने तयारीसमेत गरिएको छ।

करिब १७० मिटर लामो उक्त सुरुङ माटो तथा लेदोले भरिएको छ। सुरुङको बाँकी भाग छिचोलेपछि मात्रै पावरहाउससहित आयोजनाका अन्य मुख्य संरचनामा पुग्न सकिने अवस्था रहेको छ।

यसैबीच, आयोजनाले उद्धार कार्यमा केही प्रगति भएको जनाएको छ। केवल टनेलको मुखबाट करिब १५ फिटभित्रसम्मको डेब्रिस हटाएर नेपाली सेना त्यहाँसम्म प्रवेश गर्न सफल भएको र थप अगाडि बढ्ने प्रयास जारी रहेको आयोजनाको भनाइ छ।

लगातारको प्रयासपछि सुरुङभित्र जमेको पानीसमेत निकास गर्न सम्भव भएको जनाइएको छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक उपकरण, सामग्री तथा खाद्यान्नको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्थापन, सामग्री प्राप्ति तथा खर्चको अभिलेख राख्ने निर्णयसमेत गरिएको छ।

त्यस्तै, सम्पर्कमा आएका तथा नआएका सम्पूर्ण कर्मचारी र कामदारको विवरण अद्यावधिक गर्न तथा सम्पर्कविहीन कर्मचारी र कामदारका परिवारको पीरमर्का र गुनासो सम्बोधन गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ।

हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त आयोजनाको पावरहाउस साइटसम्म पुग्ने व्यवस्था पनि गरिएको छ।

भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट नेपाल विद्युत् प्राधिकरणका संरचनामा ठूलो क्षति पुगेपछि प्राधिकरणले खोज तथा उद्धारसँगै विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि आवश्यक काम अघि बढाइरहेको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij