काठमाडौं । रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ।
शंकर ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत कोषमा जम्मा गर्ने गरी ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
यसअघि पनि शंकर ग्रुपले बाढी प्रभावित नागरिकका लागि तत्काल राहत सामग्री उपलब्ध गराएको थियो। बाढी आएको तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइएको ग्रुपले जनाएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित नागरिकलाई तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि समेत सहयोग आवश्यक रहेको शंकर ग्रुपले जनाएको छ।
ग्रुपका अनुसार विपद्का कारण विस्थापित तथा प्रभावित नागरिकको पुनर्स्थापना र आवश्यक पूर्वाधार पुनर्निर्माणमा समेत सहयोग पुग्ने उद्देश्यले थप ४ करोड रुपैयाँ सहयोग गरिएको हो।