काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरेका छन्।
यसअघि भदौ ११ गते सूचना प्रकाशित गरी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक भदौ १७ गते बुधबार बस्ने गरी बोलाइएको हो।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गर्दै सभामुखले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेको जानकारी दिएका छन्।
महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति २०८३ भदौ ११ गते सूचनापत्र–१ प्रकाशित गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ भदौ १७ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
बैठक लामो समयदेखि स्थगित रहेको अवस्थामा सभामुखले नयाँ मिति तोकेका हुन्। बुधबारको बैठकमा संसद्का नियमित कार्यसूची तथा अन्य समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
