२०८३ भाद्र १६ मंगलबार

बाढी प्रभावित क्षेत्रमा रोजगार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय साझेदारसँग छलफल

ई आर्थिक    मंगलबार, भाद्र १६ २०८३
133
Shares
बाढी प्रभावित क्षेत्रमा रोजगार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय साझेदारसँग छलफल

काठमाडौं ।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत, पुनर्निर्माण तथा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल भएको छ।

मन्त्री यादवको अध्यक्षतामा आज भएको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), विश्व बैंक (World Bank), एसियाली विकास बैंक (ADB), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) लगायत प्रमुख विकास साझेदारका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा बाढी प्रभावित क्षेत्रका श्रमिक, युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा प्रभावित समुदायलाई तत्काल रोजगारीसँग जोड्ने विषयमा छलफल भएको थियो। त्यसका लागि द्रुत रोजगार सहायता कार्यक्रम (Rapid Employment Support Program) सञ्चालन गर्ने प्रस्ताव अघि बढाइएको छ।

त्यस्तै, प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक पर्ने तत्कालीन तथा दीर्घकालीन सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।

प्रभावित परिवारको जीविकोपार्जनलाई सुरक्षित, उत्पादक र उत्थानशील बनाउन अल्पकालीन रोजगारी सिर्जना गर्ने तथा यसअघि सञ्चालन भएका कार्यक्रम र प्राप्त अनुभवलाई थप सुदृढ बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो।

छलफललाई सम्बोधन गर्दै मन्त्री यादवले विपद्पछिको पुनर्निर्माणमा युवा शक्तिको परिचालन र रोजगार प्रवर्द्धनमार्फत प्रभावित क्षेत्रलाई पुनः चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले बाढीबाट प्रभावित श्रमिक, युवा तथा समुदायलाई राहतसँगै रोजगारी र सीप विकासका अवसरसँग जोडेर दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने दिशामा सरकार अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij