काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिन नुवाकोटको त्रिशूली पुगेका छन्।
त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले गृहमन्त्री सुधन गुरुङसँग उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन्। गृहमन्त्री गुरुङ पनि सोही सैन्य तालिम केन्द्रबाट उद्धार कार्यको समन्वय गरिरहेका छन्।
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीहरूले मन्त्री श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो प्रगति तथा अवस्थाबारे ब्रिफिङ गरेका छन्।
मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकोट पुगेका छन्।
ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धारस्थलको निरीक्षणमा जाने कार्यक्रम रहेको छ। उनले प्रभावित तथा पीडितका परिवारसँग समेत भेटेर छलफल गर्ने बताइएको छ।