काठमाडौँ । सरकारले भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोली आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन्।
गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशन दिँदै ब्रिफिङ गर्नुभएको थियो।
ब्रिफिङका क्रममा गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बेपत्ताको खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय कायम गर्दै तीव्र रूपमा परिचालन हुन निर्देशन दिनुभएको थियो।
सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत सामग्री पुर्याउने र खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
