काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी गएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ। बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।
सरकारले तल्लो तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै निरन्तर सूचना प्रवाह गरिरहेको छ। बाढीका कारण जोखिम बढेकाले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन समेत आग्रह गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, जिल्ला प्रशासन तथा जिल्लास्थित विपद् व्यवस्थापनसम्बन्धी संयन्त्रहरू परिचालन गरी उद्धार, खोज तथा राहत कार्य अघि बढाइएको छ।
सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी कम्पनीका हेलिकप्टरलाई समेत उद्धार तथा खोज कार्यका लागि तयारी अवस्थामा राखिएको जनाइएको छ।
यसैबीच, बाढीपछिको अवस्थाबारे छलफल गर्न सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ।
प्रधानमन्त्री शाहले बाढी तथा विपद्को अवस्थाबारे छलफल गर्न बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्।
सरकारले बाढी प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन तथा सुरक्षा निकाय र स्थानीय प्रशासनले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ।