काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनादेखि सञ्चालन गर्न लागेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत आज सरकारमा सहभागी रास्वपाका उपसभापति तथा अर्थमन्त्रीले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।
रास्वपाका अनुसार अर्थमन्त्री आज पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा सुन्नेछन्। कार्यक्रम साँझ ५ बजेपछि रास्वपाको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुने जनाइएको छ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा अर्थमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।
त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय पार्टी नेतृत्वबीच नागरिकबाट प्राप्त सुझाव तथा समसामयिक र नीतिगत विषयमा छलफल गरिनेछ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।
कार्यक्रममा सम्बन्धित सबैको सक्रिय सहभागिता तथा सहजीकरणका लागि रास्वपाले आग्रह गरेको छ।