काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ ।
संस्थापन इतर पक्षका नेताका अनुसार निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेका छन् ।
कांग्रेस निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोही कार्यतालिका कार्यान्वयनमा रोक लगाउन माग गर्दै संस्थापन इतर पक्ष सर्वोच्च अदालत जान लागेको हो ।
कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनः सुनुवाइ गर्न निस्सा प्रदान गरिसकेको छ । उक्त विवादको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि नबढाउन माग गर्दै रिट दायर गर्ने तयारी गरिएको हो ।
संस्थापन इतर पक्षले आधिकारिकता विवाद निरुपण नगरी महाधिवेशन प्रक्रिया अघि बढाउँदा पार्टीको वैधानिकता र महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठ्न सक्ने दाबी गरेको छ ।
महाधिवेशनको वैधानिकता तथा पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया स्थगित गर्नुपर्ने मागसहित अदालतको हस्तक्षेप खोज्न लागिएको नेताहरूले बताएका छन् ।