२०८३ साउन ३१ आइतबार

समस्या साधनको होइन, सोच र आँटको हो : कर्ण शाक्य

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
418
Shares
समस्या साधनको होइन, सोच र आँटको हो : कर्ण शाक्य

मानिसले आफ्नो दिमाग अरूलाई कमजोर बनाउन वा दोष दिन होइन, आफूलाई सक्षम बनाउन प्रयोग गर्नुपर्छ

काठमाडौं । उद्यमशीलता र आत्मनिर्भरताका विषयमा आफ्नो धारणा राख्दै व्यवसायी तथा लेखक कर्ण शाक्यले नेपाली समाजमा गरिबीभन्दा पनि सोचको दरिद्रता ठूलो समस्या रहेको बताएका छन्।

शाक्यका अनुसार अधिकांश नेपालीसँग कुनै न कुनै रूपमा घर, जग्गा वा जीवन निर्वाह गर्न सक्ने आधार छ। तर उपलब्ध स्रोत, प्रविधि, ज्ञान र सीपको सही उपयोग गर्न नसक्दा अवसर हुँदाहुँदै पनि धेरै मानिस रोजगारीका लागि विदेशिन बाध्य भइरहेका छन्।

उनले अहिलेको समय विगतभन्दा निकै फरक रहेको उल्लेख गर्दै हातहातमा प्रविधि र सूचनाको पहुँच पुगेकाले आफ्नै ठाउँमा बसेर संसारभर सेवा तथा उत्पादन बेच्न सकिने धारणा राखेका छन्।

उनका अनुसार आज उद्यम गर्न ठूलो पूँजी, कलकारखाना वा भव्य कार्यालय आवश्यक छैन। हातमा भएको मोबाइल, इन्टरनेट, सीप र इच्छाशक्तिको सही प्रयोग गर्न सके घरको कोठादेखि आफ्नै बारीसम्मबाट आम्दानीको बाटो खोल्न सकिन्छ।

मोबाइल र प्रविधिबाटै आम्दानीका अवसर

शाक्यले डिजिटल प्रविधिको प्रयोग गरेर घरमै बसेर विभिन्न सेवा तथा व्यवसाय सञ्चालन गर्न सकिने बताएका छन्। उनका अनुसार युट्युब तथा इन्टरनेटबाट ज्ञान लिएर अचार, मसला, जाम, जेली, सुकुटीलगायत स्थानीय उत्पादन बनाएर बिक्री गर्न सकिन्छ।

त्यस्तै, भिडियो निर्माण, फिल्म, सफ्टवेयर तथा च्याटबट विकास, वेबसाइट निर्माण, लोगो तथा पोस्टर डिजाइन, विज्ञापन, भिडियो सम्पादन, भ्वाइस–ओभर, भाषान्तरण, ई–बुक प्रकाशन, अनलाइन कोर्स, सामाजिक सञ्जाल सामग्री निर्माण तथा अनुसन्धानमा आधारित रिपोर्ट बिक्री गर्न सकिने उनको भनाइ छ।

डिजिटल ट्राभल गाइड, कृषि परामर्श, अनलाइन ट्युसन, अकाउन्टिङ तथा बिलिङ सेवा, होटल र रेस्टुरेन्ट व्यवस्थापनका लागि सफ्टवेयर निर्माणलगायतका क्षेत्रमा पनि नेपालबाटै संसारभर सेवा बेच्न सकिने उनले उल्लेख गरेका छन्।

थोरै स्रोतबाट कृषि तथा घरेलु उद्यम

शाक्यले डिजिटल क्षेत्रसँगै थोरै जमिन र घरायसी स्रोतको प्रयोग गरेर पनि विभिन्न उद्यम गर्न सकिने बताएका छन्।

सानो जग्गामा जैविक तरकारी खेती, कौसी खेती, जडीबुटी उत्पादन, फलफूलका बिरुवा उत्पादन गरी नर्सरी सञ्चालन, च्याउ खेती, माछापालन, मौरीपालन तथा फूल खेतीजस्ता कामबाट आम्दानी गर्न सकिने उनको धारणा छ।

त्यसैगरी अचार, मसला, गुन्द्रुक, जाम, जेली, सुकुटी, धूप, अगरबत्ती, मैनबत्ती, साबुन तथा अन्य घरेलु सामग्री उत्पादन गर्न सकिन्छ। बाँस, काठ र कपडाबाट हस्तकला उत्पादन तथा पुराना कपडालाई पुनः प्रयोग गरी नयाँ सामग्री निर्माण गरेर पनि व्यवसाय गर्न सकिने उनले बताएका छन्।

घरमै स्थानीय परिकार, मिठाई तथा अन्य खाद्य सामग्री तयार गरी अनलाइन माध्यमबाट बिक्री गर्ने ‘चुलो रेस्टुराँ’को अवधारणासमेत अघि सार्न सकिने उनको भनाइ छ।

‘समस्या साधनको होइन, सोचको हो’

शाक्यले नेपाली युवाले अवसरको खोजी गर्दै आफ्नो ज्ञान, सीप र प्रविधिलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार अहिले संसारसँग जोडिन ठूलो पूर्वाधारभन्दा पनि नयाँ सोच, खोज, जोस, आँट र इच्छाशक्ति आवश्यक छ।

उनको विचारमा मानिसले आफ्नो दिमाग अरूलाई कमजोर बनाउन वा दोष दिन होइन, आफूलाई सक्षम बनाउन प्रयोग गर्नुपर्छ।

“जीवनको सबैभन्दा ठूलो विजय अरूलाई हराउनु होइन, आफूलाई जित्नु हो,” भन्ने सन्देशसहित शाक्यले आत्मनिर्भर बन्ने यात्रामा सोच र इच्छाशक्तिलाई सबैभन्दा ठूलो साधनका रूपमा लिनुपर्ने धारणा अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij