काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
निगमका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ। ग्यास बिक्रीका लागि टेकुस्थित नेपाल आयल निगम परिसर, यातायात कार्यालय परिसर चावहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी बसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल तोकिएका छन्।
ती बिक्री केन्द्रबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री हिमाल, एपी, श्रीमाया, श्रीकृष्ण, साइवावा, ओम, भानु, एसटीसी, लोकप्रिय र सूर्यलगायत विभिन्न ब्रान्डका एलपी ग्यास उपलब्ध हुने निगमले जनाएको छ।
निगमका अनुसार ग्यास खरिद गर्न अत्यावश्यक भएका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित हुनुपर्नेछ।
निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना बिक्रेतामार्फत नियमित रूपमा बिक्री वितरण गरिरहेको जनाएको छ। त्यसैले तत्काल ग्यास आवश्यक भएका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।