२०८३ साउन ३१ आइतबार

सरकारको कार्यशैली नसुध्रिए मध्यावधि निर्वाचन हुन सक्ने डा. शशांक कोइरालाको दाबी

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
114
Shares
सरकारको कार्यशैली नसुध्रिए मध्यावधि निर्वाचन हुन सक्ने डा. शशांक कोइरालाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताले अनुभूति गर्ने गरी ठोस र जनपक्षीय काम हुन नसकेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले बहुमतको समर्थन प्राप्त सरकार भए पनि अहिलेसम्म नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए।

उनले सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै यसलाई एक प्रकारको ‘कामचलाउ सरकार’को संज्ञा दिए। बहुमत हुँदाहुँदै पनि सरकारले उल्लेखनीय काम गर्न नसकेको उनको भनाइ थियो।

“यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन। नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ,” कोइरालाले भने।

कोइरालाले वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा समेत आशंका व्यक्त गरे। राजनीतिक परिस्थितिमा परिवर्तन आउन सक्ने उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमा सुधार नआए मुलुक मध्यावधि निर्वाचनतर्फ जानुपर्ने अवस्था आउन सक्ने बताए।

“यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ। राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन,” उनले भने।

कोइरालाको पछिल्लो अभिव्यक्तिले सरकारको कार्यसम्पादनप्रति कांग्रेसभित्र देखिएको असन्तुष्टि तथा आगामी राजनीतिक परिस्थितिबारे बढ्दो आशंकालाई संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij