काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण देशका नौ प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवाली तथा पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग भने पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।
बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ। काठमाडौं–हेटौँडा कान्ति लोकपथमा पनि बाढी तथा पहिरोको सम्भावित जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला तथा कोदारी क्षेत्रमा अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडकखण्डमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
त्यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहे पनि जवाङखोला सडकखण्ड भने पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षा जारी रहेकाले बाढी र पहिरोको जोखिम अझै कायम रहेको जनाएको छ। यात्रामा निस्किनुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।