प्रधानमन्त्रीबाट उद्घाटन गर्ने तयारी, प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्र अनुमति
काठमाडौं । बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी साउन ११ गते उद्घाटन हुने भएको छ। निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारी भइरहेको सुरुङमार्गको उद्घाटन सोही दिन गर्ने तयारी गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयका अनुसार सुरुङमार्गको सम्पूर्ण निर्माण कार्य सकिएको छ र उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन कसरी गर्ने र कसबाट गराउने भन्ने विषयमा मन्त्रालयले अन्तिम छलफल गरिरहेको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीबाटै उद्घाटन गराउने तयारी भइरहेको छ।
यद्यपि उद्घाटनसँगै सबै प्रकारका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। मन्त्रालयका अनुसार सुरुङमार्गमा तीन महिनाको परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरिनेछ।
परीक्षण अवधिमा सुरुवाती केही दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। त्यसपछि परीक्षणको नतिजाका आधारमा क्रमशः अन्य सवारीसाधनलाई पनि अनुमति दिइने र कुनै समस्या नदेखिए चौथो महिनादेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइने तयारी छ।
परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक शुल्क लिने वा नलिने विषयमा भने अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन।
जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माण सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गरिसकेको छ। अब सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आयोजनाले नै सम्हाल्नेछ।
सम्झौताअनुसार ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले ढिलाइ हुँदा निर्माण सुरु भएको ७९ महिनापछि मात्रै सम्पन्न भएको हो।
आयोजनाको कुल लागत २५ अर्ब रुपैयाँ पुगेको छ। जसमा निर्माणतर्फ १७ अर्ब रुपैयाँ, विनिमय दर र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण २ अर्ब रुपैयाँ तथा जग्गा मुआब्जामा ६ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। यसमध्ये १९ अर्ब रुपैयाँ जापान सरकारको सहुलियतपूर्ण ऋणबाट व्यवस्थापन गरिएको हो भने जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारले व्यहोरेको हो। आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।
यस आयोजनाअन्तर्गत २.६८८ किलोमिटर लामो मुख्य सुरुङमार्ग र आपतकालीन उद्धारका लागि २.५५ किलोमिटर लामो छुट्टै सुरुङ निर्माण गरिएको छ।
यसअघि मन्त्रिपरिषद्ले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको प्रकारअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ।