काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा कानुन व्यवसायी यज्ञमणि न्यौपानेले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि न्यायालयको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण सम्भव नहुने दाबी गरेका छन्।
उनले लेखेका छन्, “विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेका छन् कि न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन। न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ।”
उनका अनुसार, न्यायालय सुधारको प्रक्रिया जति ढिला गरिन्छ, भविष्यमा त्यसको असर झन् गम्भीर रूपमा महसुस हुन सक्ने अवस्था सिर्जना हुन सक्छ।
न्यौपानेले राज्यका सबै निकायले समयअनुसार परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै त्यसबाट मात्रै देश परिवर्तन सम्भव हुने धारणा राखेका छन्।
उनले आफ्नो टिप्पणी आवेगमा नभई गम्भीर समीक्षा र विश्लेषणबाट आएको निष्कर्ष भएको उल्लेख गर्दै अन्त्यमा ‘जय देश’ लेखेका छन्।