काठमाडौं । लामो समयदेखि सुस्त देखिएको घरजग्गा कारोबारले आर्थिक वर्षको अन्तिम महिनामा भने गति लिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको पछिल्लो विवरणले असारमा घरजग्गा किनबेच उल्लेख्य रूपमा बढेको र त्यसबाट सरकारको आम्दानीसमेत उच्च भएको देखाएको छ।
विभागका अनुसार असार महिनामा देशभरका १३८ वटा मालपोत तथा भूमि प्रशासन कार्यालयबाट ७० हजार ४८० वटा घरजग्गासम्बन्धी लिखत पारित भएका छन्। यो संख्या जेठ महिनाको तुलनामा १५ हजार ७५६ ले बढी हो। जेठमा ५४ हजार ७२४ वटा लिखत पारित भएका थिए। एक महिनाको अवधिमा कारोबार करिब २८.८ प्रतिशतले बढेको देखिन्छ।
गत आर्थिक वर्षको असारसँग तुलना गर्दा पनि यस वर्षको कारोबार सकारात्मक देखिएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा लिखत पारित संख्या १४ हजार ९५६ ले बढेको विभागको तथ्यांकले देखाउँछ।
कारोबार बढेसँगै सरकारको राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। जेठमा घरजग्गा कारोबारबाट ५ अर्ब २४ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएकोमा असारमा यो रकम बढेर ११ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुगेको छ। एक महिनामै राजस्व संकलन दोब्बरभन्दा बढी वृद्धि भएको हो।
विगत केही महिनादेखि आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउँदा घरजग्गा क्षेत्र दबाबमा थियो। तर आर्थिक वर्ष समाप्त हुने समयमा सम्पत्ति हस्तान्तरण, कर व्यवस्थापन, व्यवसायिक हिसाब मिलान तथा अन्य वित्तीय कारणले असारमा कारोबार बढ्ने गरेको व्यवसायी तथा जानकारहरू बताउँछन्।
विभागको मासिक विवरण हेर्दा चालु आर्थिक वर्षभर घरजग्गा कारोबारमा क्रमिक सुधारको संकेत देखिन्छ। साउनमा २८ हजार ३८३ वटा लिखत पारित भएकोमा भदौमा २३ हजार ३५३, असोजमा २७ हजार ४९४, कात्तिकमा ३१ हजार ६२१, मंसिरमा ३६ हजार ४७१ र पुसमा ५१ हजार ८८८ वटा कारोबार भएका थिए।
त्यसपछि माघमा ५१ हजार ६३२, फागुनमा ५५ हजार ५३१, चैतमा ५० हजार ८३७, वैशाखमा ५८ हजार ८८६, जेठमा ५४ हजार ७२४ र असारमा ७० हजार ४८० वटा लिखत पारित भएका छन्। तथ्यांकले आर्थिक वर्षको अन्तिम महिनामा घरजग्गा कारोबार वर्षकै उच्च तहमा पुगेको देखाउँछ।
राजस्व संकलनमा पनि पछिल्ला महिनामा उतारचढाव देखिए पनि असारमा भने ठूलो वृद्धि भएको छ। फागुनमा करिब ४ अर्ब १५ करोड रुपैयाँ संकलन भएकोमा चैतमा ६ अर्ब १६ करोड ५७ लाख, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख र जेठमा ५ अर्ब २४ करोड रुपैयाँ हाराहारी राजस्व उठेको थियो। असारमा भने यो रकम बढेर ११ अर्ब ८४ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
घरजग्गा बजारमा आएको यो सुधारले आर्थिक गतिविधि विस्तारको संकेत गरे पनि आगामी महिनाहरूमा कारोबारको गति कायम रहन्छ वा मौसमी प्रभाव मात्र हो भन्ने विषय भने बजारको समग्र अवस्थाले निर्धारण गर्नेछ।