२०८३ साउन १० आइतबार

बर्डफ्लुको प्रकोपले डेढ खर्बको कुखुरा उद्योग संकटमा, उपत्यकामा मासु र अन्डाको खपत ३० प्रतिशतसम्म घट्यो

ई आर्थिक    बिहिबार, असार ३२ २०८३
646
Shares
बर्डफ्लुको प्रकोपले डेढ खर्बको कुखुरा उद्योग संकटमा, उपत्यकामा मासु र अन्डाको खपत ३० प्रतिशतसम्म घट्यो

काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र, कोशी र काठमाडौंमा नियन्त्रणतर्फ, किसानलाई समयमै क्षतिपूर्ति र कडा बायोसेक्युरिटीको माग

काठमाडौं । नेपालको कुखुरा उद्योग यतिबेला बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमणका कारण गम्भीर संकटमा परेको छ। विभिन्न जिल्लामा संक्रमण फैलिँदै जाँदा लाखौँ कुखुरा, अन्डा र दाना नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने यसले किसानको लगानी, बजारको माग र राष्ट्रिय खाद्य सुरक्षामा समेत प्रत्यक्ष असर पार्न थालेको छ।

सरोकारवालाका अनुसार यसपटक बर्डफ्लु अपेक्षाभन्दा फराकिलो क्षेत्रमा फैलिएको छ। सुरुमा सीमित व्यावसायिक फार्ममा देखिएको संक्रमण अहिले विभिन्न जिल्लामा पुगिसकेको छ। यसको प्रभाव कुखुरापालक किसान मात्र होइन, दाना उद्योग, ह्याचरी, ढुवानी व्यवसायी, मजदुर र खुद्रा व्यापारीसम्म पुगेको छ।

डेढ खर्बको उद्योग दबाबमा

नेपालको कुखुरा उद्योगमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान गरिएको छ। लाखौँ मानिसको रोजगारीको आधार बनेको यस उद्योगमा आएको संकटले कृषि अर्थतन्त्रमा समेत चिन्ता थपेको छ।

पोल्ट्री व्यवसायी दयाराम महतका अनुसार संक्रमणले उत्पादन मात्र नभई उपभोक्ताको मनोविज्ञानमा पनि असर पारेको छ। उहाँका अनुसार काठमाडौं उपत्यकामा कुखुराको मासु र अन्डाको दैनिक खपत २० देखि ३० प्रतिशतसम्म घटेको छ।

उहाँले वैज्ञानिक रूपमा सुरक्षित भए पनि बर्डफ्लुबारे रहेको भ्रमका कारण उपभोक्ताले कुखुराजन्य उत्पादन खरिद गर्न हिच्किचाइरहेको बताउनुभयो।

किसानको लगानी जोखिममा

संक्रमण पुष्टि भएका फार्ममा रोग नियन्त्रणका लागि ठूलो संख्यामा कुखुरा, अन्डा र दाना नष्ट गरिएको छ। यसले किसानलाई ठूलो आर्थिक क्षति पुगेको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले सरकारले क्षतिपूर्तिको व्यवस्था गरे पनि प्रभावित किसानले समयमै राहत नपाउँदा व्यवसाय पुनः सञ्चालन गर्न कठिन भइरहेको बताउनुभयो।

उहाँका अनुसार छिटो क्षतिपूर्ति उपलब्ध गराउन सके किसान पुनः उत्पादनमा फर्किन सहज हुनेछ।

किन फैलिरहेको छ बर्डफ्लु ?

पशुसेवा विभागका अनुसार कमजोर बायोसेक्युरिटी (जैविक सुरक्षा) संक्रमण फैलिनुको मुख्य कारण हो। हाल काठमाडौं उपत्यकामा संक्रमण नियन्त्रणोन्मुख रहेको, कोशी प्रदेशमा पनि अवस्था सुधारोन्मुख रहेको भए पनि काभ्रेपलाञ्चोकमा संक्रमण अझै तीव्र रहेको जनाइएको छ।

जिल्ला पशुसेवा कार्यालय धुलिखेलका अनुसार फार्ममा अनियन्त्रित आवतजावत, असुरक्षित स्रोतबाट चल्ला खरिद, खुला रूपमा दाना र पानी राख्ने अभ्यास तथा जंगली चरासँगको सम्पर्कले भाइरस फैलिन सहयोग गरिरहेको छ।

पशु चिकित्सक डा. मनोजकुमार शाहीले संक्रमित पन्छी नष्ट गर्नु मात्रै दीर्घकालीन समाधान नभएको बताउँदै प्रत्येक फार्ममा वैज्ञानिक बायोसेक्युरिटी, नियमित निगरानी र सुरक्षित व्यवस्थापन अनिवार्य बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

मानव स्वास्थ्यमा कति जोखिम ?

बर्डफ्लु मुख्यतः चराचुरुङ्गीमा देखिने रोग भए पनि केही प्रकारका भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले यसलाई जुनोटिक रोग मानिन्छ। यद्यपि नेपालमा यस वर्ष मानवमा संक्रमण पुष्टि भएको छैन।

विज्ञहरूले पशु स्वास्थ्य र मानव स्वास्थ्यबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन, प्रभावित क्षेत्रमा नियमित परीक्षण, निगरानी र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

अफवाहले पनि बजार प्रभावित

बर्डफ्लुसँगै सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना र अफवाहका कारण पनि कुखुराजन्य उत्पादनको बजार प्रभावित भएको व्यवसायीहरूको गुनासो छ।

विशेषज्ञहरूका अनुसार रोगमुक्त स्रोतबाट प्राप्त कुखुराको मासु र अन्डा राम्रोसँग पकाएर सेवन गर्दा सामान्य अवस्थामा स्वास्थ्य जोखिम हुँदैन। त्यसैले तथ्यमा आधारित सूचना प्रवाह गरी उपभोक्तामा रहेको भ्रम हटाउन आवश्यक रहेको उनीहरूको भनाइ छ।

दीर्घकालीन सुधारको अवसर

पशु चिकित्सक डा. वज्रकिशोर ठाकुरका अनुसार बर्डफ्लुले नेपालको पशुपन्छी क्षेत्रमा दीर्घकालीन सुधारको आवश्यकता स्पष्ट पारेको छ।

उहाँले आधुनिक प्रयोगशाला विस्तार, द्रुत परीक्षण प्रणाली, प्रभावकारी रोग निगरानी, किसानमैत्री बीमा, समयमै क्षतिपूर्ति र जैविक सुरक्षामा लगानी बढाउन सके भविष्यमा यस्ता महामारीबाट हुने क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो।

सरकार, निजी क्षेत्र, किसान र उपभोक्ताबीच प्रभावकारी सहकार्य, वैज्ञानिक व्यवस्थापन र समयमै हस्तक्षेप हुन सके नेपालको कुखुरा उद्योगलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सकिने विश्वास सरोकारवालाले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij