२०८३ साउन ९ शनिबार

उत्तर कोरियाली सीमा नजिक गस्तीमा रहेका दक्षिण कोरियाली नाविक मृत फेला

ई आर्थिक    सोमबार, असार २९ २०८३
532
Shares
उत्तर कोरियाली सीमा नजिक गस्तीमा रहेका दक्षिण कोरियाली नाविक मृत फेला

काठमाडौं । दक्षिण कोरियाको नौसेनाले उत्तर कोरियासँगको समुद्री सीमा नजिकै बेपत्ता भएका एक नाविकको शव फेला पारेको छ। पूर्वी तटमा गस्ती गरिरहेको जहाजबाट बेपत्ता भएको एक दिनपछि सोमबार बिहान ती नाविक मृत अवस्थामा फेला परेका हुन्।

नौसेनाले एक विज्ञप्ति जारी गर्दै ‘खोज अभियानमा भाग लिने गस्ती डुंगाले स्थानीय समयअनुसार सोमबार बिहान ५:५८ बजे जियोजिनबाट लगभग ५२ किलोमिटर पूर्वमा हराएका नाविकको शव फेला पारेको’ जनाएको छ। त्यसपछि बिहान ६:४३ बजे (स्थानीय समय) शव निकालिएको नौसेनाले बताएको छ।

आइतबार बिहान उत्तरी सीमा रेखा नजिक गस्तीमा रहेको जहाजमा कार्यरत ती नाविक आफ्नो ड्युटीमा उपस्थित नभएपछि बेपत्ता भएको पुष्टि भएको थियो। घटनापछि नौसेनाले १० वटा जहाज र विमानहरू परिचालन गरी व्यापक खोजी अभियान सुरु गरेको थियो। साथै, दक्षिण कोरियाले अन्तर्राष्ट्रिय माध्यमबाट उत्तर कोरियालाई समेत यस विषयमा जानकारी गराउँदै सहयोगको आग्रह गरेको थियो।

हाल मृतकको शव डोङ्हेस्थित नौसेना अड्डामा ल्याउने तयारी भइरहेको छ। घटनाको यकिन कारण पत्ता लगाउन प्रहरी र सैन्य अनुसन्धान निकायले संयुक्त रूपमा अनुसन्धान सुरु गर्ने भएका छन्।

दुई कोरियाबिचको समुद्री सीमा क्षेत्रमा यसअघि पनि यस्ता घटनाहरू हुँदा तनाव सिर्जना हुने गरेको थियो। सन् २०२० मा दक्षिण कोरियाका एक मत्स्य अधिकारी समुद्री सीमा पार गरेपछि उत्तर कोरियाली सैनिकले चलाएको गोली लागेर मारिएका थिए। हालैका वर्षमा प्योङयाङले दक्षिण कोरियासँगका सबै सञ्चार लाइनहरू काटेकाले दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij