२०८३ साउन १२ मंगलबार

सिभिल अस्पतालमा औषधि खरिदमा करिब २.९१ करोड भ्रष्टाचार, फार्मेसी इन्चार्ज दीपा ढुंगानासहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

ई आर्थिक    बुधबार, असार २४ २०८३
665
Shares
सिभिल अस्पतालमा औषधि खरिदमा करिब २.९१ करोड भ्रष्टाचार, फार्मेसी इन्चार्ज दीपा ढुंगानासहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । मीनभवनस्थित निजामती (सिभिल) अस्पतालमा औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुंगानासहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले बुधबार दायर गरेको मुद्दाअनुसार अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नै नगरी बिल तथा भरपाइ मिलाएर सरकारी रकम हिनामिना गरेको आरोप लगाइएको छ।

अख्तियारले प्रतिवादी प्रत्येकबाट २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो असुलउपर गर्न माग गरेको छ। मुद्दा दायर गरिएकामा फार्मेसी अधिकृत दीपा ढुंगाना, फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक शर्मिला श्रेष्ठ, स्टोर किपर तथा फार्मेसी सहायक केशवराज न्यौपाने र स्टोर किपर तथा फार्मेसी सहायक सन्दीप तिवारी रहेका छन्।

अनुसन्धानका क्रममा अस्पतालमा औषधि आपूर्ति नभए पनि बिल–बिजक सफ्टवेयरमा विवरण प्रविष्टि गरी ठूलो रकमको भ्रष्टाचार गरिएको खुलेको आयोगले जनाएको छ। साथै अस्पतालको स्टोर शाखा र भर्‍याङमा करोडौँ रुपैयाँ बराबरका औषधि म्याद गुज्रिएको अवस्थामा फेला परेको तथा कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधि वास्तविक रूपमा स्टकमा नरहेको पनि अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ।

आयोगले प्रतिवादीहरूमाथि भ्रष्टाचारसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही र बिगो असुलउपरको माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij