२०८३ असोज २ शुक्रबार

छ वर्षपछि सुरु भयो बाजुराको बल्दे–धुरासैन सडक कालोपत्रे, असारभित्रै सक्ने निर्माण कम्पनीको दाबी

ई आर्थिक    बुधबार, असार २४ २०८३
1.1K
Shares
छ वर्षपछि सुरु भयो बाजुराको बल्दे–धुरासैन सडक कालोपत्रे, असारभित्रै सक्ने निर्माण कम्पनीको दाबी

२०७९ मै सम्पन्न हुनुपर्ने आयोजना लामो समय अलपत्र, ११ करोडको ठेक्कापछि बल्ल निर्माणले लियो गति

बाजुरा। बाजुराको सेराआटीचौर सडकअन्तर्गत पर्ने बल्दे–धुरासैन सडक खण्डमा छ वर्षपछि कालोपत्रे कार्य सुरु भएको छ। २०७७ सालमा ठेक्का सम्झौता भए पनि विभिन्न कारणले लामो समयसम्म अलपत्र परेको आयोजना अहिले निर्माण कम्पनी आफैंले अघि बढाएको हो।

जयदेवी एसएस निर्माण सेवा प्रालिले २०७७ असारमा बल्देदेखि धुरासैनसम्म करिब साढे पाँच किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो। सम्झौताअनुसार २०७९ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि काम समयमै हुन सकेन।

स्थानीयका अनुसार निर्माण कम्पनीले सुरुमा अर्को कम्पनीलाई कामको जिम्मा दिएपछि आयोजना प्रभावित भएको थियो। त्यसपछि सडक निर्माण वर्षौंदेखि अलपत्र अवस्थामा रहेको थियो।

बुढीगंगा नगरपालिका–२ का स्थानीय शिक्षक बहादुर थापाका अनुसार ठेक्का सम्झौताको करिब छ वर्षपछि मात्रै सडक कालोपत्रे कार्यले वास्तविक गति लिएको छ।

निर्माण कम्पनीका सञ्चालक दिक्पाल शाहीले सुरुवातमा काम अर्को पक्षलाई जिम्मा दिँदा निर्माण समयमै पूरा हुन नसकेको स्वीकार गर्दै अहिले कम्पनी आफैंले निर्माणको जिम्मेवारी सम्हालेको बताउनुभयो।

उहाँका अनुसार अहिले कालोपत्रेको काम तीव्र गतिमा भइरहेको छ र असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडक डिभिजन अछामले यसअघि सेराआटीचौरसम्मको कच्ची सडक निर्माण सम्पन्न गरेपछि यस क्षेत्रमा छोटो दूरीका सवारी सञ्चालनमा आएका थिए। बल्दे–आटीचौर सडकले बुढीगंगा नगरपालिका–२ को बल्देलाई खप्तडछेडेदह गाउँपालिकाको आटीचौर, डोगडी हुँदै बझाङसँग जोड्ने महत्वपूर्ण सडकका रूपमा लिइन्छ।

तर सडक कालोपत्रे नहुँदा वर्षौंदेखि यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन्। कच्ची सडकका कारण सवारीसाधन पटक–पटक रोकिनुपर्ने, वर्षायाम र हिउँदमा सडक अवरुद्ध हुने तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ।

डोगडी, आटीचौरलगायतका बस्तीका स्थानीय यही सडक प्रयोग गरेर साँफे, मार्तडी तथा अन्य बजार क्षेत्रमा दैनिक आवतजावत गर्दै आएका छन्।

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाका अनुसार बल्दे–धुरासैन सडक कालोपत्रे गर्न करिब ११ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो। स्थानीयवासीले अब निर्माण कार्य समयमै सम्पन्न भई वर्षौंदेखिको सडक समस्याको अन्त्य हुने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij