२०८३ असोज २ शुक्रबार

नौबिसे–मलेखु खण्डको सडक निर्माणले लियो गति, ६० प्रतिशत भौतिक प्रगति पूरा

ई आर्थिक    सोमबार, असार २२ २०८३
779
Shares
नौबिसे–मलेखु खण्डको सडक निर्माणले लियो गति, ६० प्रतिशत भौतिक प्रगति पूरा

काठमाडौं ।  नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले पछिल्ला दिनमा उल्लेखनीय गति लिएको छ।

४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमध्ये हालसम्म २५ किलोमिटर कालोपत्रे भइसकेको छ भने २ किलोमिटर क्षेत्रमा ढलान (रिजिड पेभमेन्ट) सम्पन्न गरिएको छ। यससँगै कुल २७ किलोमिटर सडक निर्माण कार्य पूरा भएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार समग्र भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ। योजना प्रमुख केशव ओझाका अनुसार चालु आर्थिक वर्षभित्र ७५ प्रतिशत प्रगति पुर्‍याउने लक्ष्य राखिए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण केही समय काम प्रभावित भएको थियो।

पश्चिम एसियामा देखिएको तनावले आपूर्ति प्रणालीमा असर पारेपछि बिटुमिन अभाव उत्पन्न भए पनि हाल पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयपछि आपूर्ति सहज बनेको र निर्माण कार्य पुनः तीव्र भएको बताइएको छ।

यस आयोजनाको पहिलो खण्डअन्तर्गत पर्ने नागढुंगा–नौबिसे खण्डको प्रगति भने ८८ प्रतिशत पुगेको छ। दोस्रो खण्ड नौबिसे–मलेखु क्षेत्रमा हालसम्म २५ किलोमिटर कालोपत्रेमध्ये करिब २.५ किलोमिटर दुई लेनमा निर्माण गरिएको छ भने बाँकी भाग पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेका अनुसार मौसम अनुकूल भएमा आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ। हाल कम्पनीले दैनिक ४०० देखि ५०० मिटर सडक कालोपत्रे गर्ने क्षमता अनुसार काम अघि बढाइरहेको छ।

आयोजनाले यस आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति पुर्‍याउने संशोधित लक्ष्य लिएको छ। वर्षायाम सुरु हुनुअघि पुराना क्षतिग्रस्त सडक भागलाई पुनः कालोपत्रे गरी यातायात आवागमन सहज बनाउने कामलाई पनि उच्च प्राथमिकता दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij