काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालय एडीबीले यस खण्डमा गरिएको ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ।
सडक विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै कालोपत्रेको सट्टा गुणस्तरीय कङ्क्रिट ढलान गरिएको हो।
उहाँका अनुसार भार नियन्त्रण तथा डिजाइनअनुसारका मापदण्ड पालना भए सडकको आयु ३० देखि ४० वर्षसम्म पुग्न सक्नेछ। “हामीले ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेका छौँ। यदि भार नियन्त्रण भयो र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ, जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुनेछ,” उहाँले भन्नुभयो।
ढकालले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिँदै आगामी २० देखि ३० वर्षको सवारी चापलाई आधार मानेर सडक निर्माण गरिएको बताउनुभयो। दैनिक १२ हजारदेखि २० हजारसम्म सवारीसाधन सञ्चालन भए पनि सडकमा कुनै असर नपर्ने गरी संरचना तयार गरिएको उहाँको भनाइ छ।
हाल दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर सडकको एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको आयोजना निर्देशनालयले जनाएको छ। सडकको एकातर्फको निर्माण पूरा भई त्यसतर्फबाट सवारी सञ्चालनसमेत सुरु भइसकेको छ।
आयोजनाका अनुसार कालोपत्रे सडक छिट्टै बिग्रने र बारम्बार मर्मत गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै दाउन्ने खण्डमा कङ्क्रिट ढलान गरिएको हो। यसबाट बर्सेनि हुने सडक अवरोध र मर्मतसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
नारायणघाट–बुटवल सडक विस्तार आयोजना २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता गरी सुरु गरिएको थियो। २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयमा काम नसकिएपछि पटक–पटक म्याद थप गरिएको छ। हाल चौथो पटक थपिएको म्यादभित्र निर्माण कार्य भइरहेको छ।
११३ किलोमिटर लामो नारायणघाट–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी विस्तारको काम भइरहेको छ। एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सञ्चालित यस आयोजनाको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ।