गोरखा : गोरखा जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण तीव्र रूपमा फैलिँदा पछिल्लो दुई महिनाको अवधिमा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरेका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार सङ्क्रमणका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका–६ को मानवसेवा आश्रम टोलस्थित किसान राजकुमार श्रेष्ठको फार्ममा रहेका ८० वटा तथा सोही क्षेत्रकी जुना रेग्मीको फार्ममा रहेका १० वटा बङ्गुर मरेका छन्। यस्तै मान्द्रेढुङ्गाका किसान धनकुमार गुरुङको फार्ममा दुई साताभित्रै ६० वटा बङ्गुर मरेका छन्। अन्य विभिन्न किसानका फार्ममा रहेका सुँगुर र बङ्गुर पनि यही रोगका कारण मरेको केन्द्रले जनाएको छ।
हालसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्महरूमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ। जिल्लामा यो रोग पहिलो पटक पहिचान भएको करिब दुई महिना मात्रै भएको केन्द्रले जनाएको छ।
केन्द्र प्रमुख कोइरालाका अनुसार अफ्रिकन स्वाइन फिभरको हालसम्म कुनै प्रभावकारी उपचार वा खोप उपलब्ध छैन। उनले सङ्क्रमित स्थानमा पुगेका मानिस, दाना, उपकरण तथा औषधिको माध्यमबाट समेत रोग फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
“उपचार र खोप दुवै नभएकाले रोग नियन्त्रणका लागि जैविक सुरक्षा (बायोसेक्युरिटी) अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो,” कोइरालाले बताए।
उनका अनुसार जिल्लामा दर्ता भएका र दर्ताविहीन दुवै प्रकारका फार्ममा क्षति भएको जानकारी आए पनि सबै विवरण अझै सङ्कलन भइसकेको छैन।
यसैबीच किसान धनकुमार गुरुङले सङ्क्रमित सुँगुर र बङ्गुरमा सुरुमा उच्च ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा रातो धब्बा वा दाग देखिने र करिब एक साताभित्रै मर्ने लक्षण देखिने गरेको बताए।
पशु सेवा विज्ञ केन्द्रले किसानलाई सङ्क्रमित खोर, उपकरण र संक्रमित पशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहन तथा फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।