२०८३ भाद्र २७ शनिबार

महिलाको सुरक्षित यात्राका लागि ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ बस चलाइने

ई आर्थिक    शनिबार, असार १३ २०८३
1.8K
Shares
महिलाको सुरक्षित यात्राका लागि ‘ब्लु बस’ सञ्चालनको तयारी, पहिलो चरणमा २५ बस चलाइने

काठमाडौँ । सरकारले महिलाको सुरक्षित सार्वजनिक यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअन्तर्गत ब्लु बस सञ्चालनको अवधारणामा काम भइरहेको जनाएको हो।

सरकारको कार्यसूचीको बुँदा ९७ र ९८ अनुसार सातै प्रदेशमा महिलाका लागि निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने तथा पहिलो चरणमा सय दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि आवश्यक बजेट अभावका कारण सेवा तत्काल सुरु नहुने, आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालका अनुसार ब्लु बसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने गरी व्यवस्थापन र सञ्चालन मोडालिटी तयार पार्ने काम भइरहेको छ। “हाल बजेटको व्यवस्था छैन। त्यसैले आगामी आर्थिक वर्षदेखि कार्यक्रम कार्यान्वयन गर्ने गरी तयारी अघि बढाइएको हो,” उनले बताए।

मन्त्रालयको निर्देशनअनुसार यातायात व्यवस्था विभागले साझा यातायातसँग सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अवधारणा माग गरेको थियो। साझा यातायातले तयार पारेको प्रस्ताव विभागमार्फत मन्त्रालयमा पठाइसकिएको विभागका सूचना अधिकारी गणेश मानसिं राईले जानकारी दिए।

प्रस्तावअनुसार काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ब्लु बसका रूपमा सञ्चालन गरिनेछ। त्यस्तै उपत्यकाबाहिर सातै प्रदेशमा यातायात व्यवसायी सङ्घसँग समन्वय गरी थप १८ वटा बस सञ्चालन गर्ने योजना रहेको छ।

यससँगै सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकारले सुरक्षा प्रविधिलाई पनि प्राथमिकता दिएको छ। कार्यसूचीअनुसार सबै सार्वजनिक सवारीमा सिसिटिभी र ड्यासक्याम जडान गर्ने तथा राइड सेयरिङ एपमा एसओएस बटन अनिवार्य गर्ने व्यवस्था अघि बढाइएको छ।

यातायात व्यवस्था विभागका अनुसार हालसम्म साझा यातायातसहित करिब २०० सार्वजनिक सवारीसाधनमा सिसिटिभी क्यामेरा र ड्यासक्याम जडान गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij